देउवाको पोस्टमा बालेनको प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । हिजो (शनिबार) साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए ।
देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु ।’ देउवाले कार्यक्रमका केही तस्वीरहरू पनि सार्वजनिक गरेका छन् ।
त्यही पोस्टमा बालेनले प्रतिक्रिया जनाएका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?’ उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’ बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ ।
कांग्रेस सभापति देउवाले हिजो मोरङमा पत्रकारसँग कुरा गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय नगरेको बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने नभई नियमन गर्ने कुरा गरेको पनि उनले बताएका थिए । एकै पटक २६ वटा सामाजिक सञ्जाल सरकारले निस्क्रिय बनाएपछि आम नागरिकले सकस खेपिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले भने नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने कुनै निर्णय नभएको बताएका हुन् ।