`

कांग्रेस प्रवक्ताको प्रश्न : आक्रमण हुने थाहा हुँदाहुँदै घर नछाड्ने देउवाले देश छाड्नु हुन्छ ?

Nepal One HD १२ असोज २०८२ १२:४१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
आज (आइतबार) पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै ‘डिमोरलाइज’ गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनि ‘डिमोरलाइज’ नभएको जिकिर गरे।

‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । सांघातिक हमला हुने देख्दा देख्दै पनि घर छोड्नु भएन भने देश छोड्नु पर्ने कुनै कारण छैन, कल्पना नगरे हुन्छ’ उनले भने ।

प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताएका छन् । ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ’, उनले भने । प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए ।

‘अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *