`

शेखर भन्छन्–कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ

Nepal One HD ४ असोज २०८२ १२:५३
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । आज (शनिबार) विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका थिए । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको समेत उनको भनाइ छ । ‘उनीहरूले तीन वटा कुराहरू उठाएका थिए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ ? थाहा छैन,’ उनले भने, ‘चार चोटि जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । ‘म त अचम्ममा परें । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन,’ कोइरालाले भने, ‘घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनु पर्‍यो ।’ संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *