कांग्रेस वैठक : निर्वाचन र संसद पुनः स्थापनालाई सँगसँगै लैजानु पर्ने बहस


काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी रणनीति र महाधिवेशनको विषयमा छलफल गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको जटिल राजनीतिक अवस्थामा पार्टीभित्र एकता कायम राख्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नु पर्ने बताएका छन् । उनले विशेष महाधिवेशनले पार्टीमा ध्रुवीकरण र विभाजनको खतरा बढाउने भन्दै मंसिरमा तय भएको नियमित महाधिवेशनलाई नै प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
‘पार्टीमा सबै मिलेर जाँदा मात्रै चुनौती सामना गर्न सकिन्छ । विशेष महाधिवेशनले ध्रुवीकरण बढाउँछ, त्यसैले नियमित महाधिवेशनमा केन्द्रित हुनुपर्छ,’ उनले भने । उनले युवाहरूको सहभागिता सुनिश्चित गर्दै विधि र प्रक्रियालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्नेमा जोड दिए । महतले वर्तमान सरकारले निर्वाचन गराउने सुनिश्चितता नभएको अवस्थामा संसद् पुनःस्थापनाको विकल्पलाई पनि खुला राख्नुपर्ने बताए । ‘निर्वाचन भएन भने अन्योलपूर्ण अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा संसद् पुनःस्थापनाको ढोका बन्द गर्नु हुँदैन,’ उनले भने ।
नेता कृष्णप्रसाद सिटौलाले पनि संसद् पुनःस्थापनाको मागलाई बन्द गर्न नहुने र निर्वाचनको सुनिश्चितता नभएको अवस्थामा दुवै विकल्पलाई सँगसँगै लैजानुपर्ने धारणा राखे । ‘यो सरकारले चुनाव गराउँछ भन्ने सुनिश्चित छैन । यस्तोमा संसद् पुनःस्थापनालाई पनि विकल्पको रूपमा राख्नु पर्छ,’ उनले भने ।
यस्तै नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, सुजाता कोइराला र आनन्दप्रसाद ढुंगानाले पनि विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनतर्फ तयारी अघि बढाउनुपर्नेमा जोड दिए । उनीहरूले निर्वाचन र संसद् पुनःस्थापनालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । कांग्रेस नेताहरूले भदौ २३ र २४ गतेका घटनालाई फरक–फरक रूपमा हेर्नुपर्ने बताएका छन् । भदौ २३ गतेको जेन–जी आन्दोलनको घटनालाई सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्ने माग उनीहरूले राखेका छन् । भदौ २४ गतेको आगजनी र लुटपाटमा संलग्नहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पनि यी दुई घटनालाई एकै रूपमा नलिन र भदौ २० गतेको विद्रोहमाथि राज्यले अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । राष्ट्रपति पौडेलसँगको आजको बैठकमा पनि कांग्रेसले यो विषयलाई जोडदार रूपमा उठाएको थियो । राष्ट्रपतिले आजै सर्वदलीय बैठक बोलाएकाले कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक भोलिसम्मका लागि सारिएको छ । छलफल नसकिएकाले बैठकलाई निरन्तरता दिने निर्णय भएको नेताहरूले बताए । कांग्रेसले अहिलेको राजनीतिक अन्योल र चुनौतीलाई सम्बोधन गर्न पार्टीभित्र एकता र युवा सहभागितालाई प्राथमिकता दिँदै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन र रणनीति तय गर्नुपर्नेमा जोड दिएको छ ।