`

‘३० मुनिका ३०’ को व्यवस्था पार्टी विधानमा ल्याउनु पर्छ : विश्वप्रकाश शर्मा

Nepal One HD ११ असोज २०८२ ११:०७
नेपाली कांग्रेस

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन् । बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्षमुनिका युवाहरू केन्द्रीय समितिमा समेटिने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् । यसलाई उनले ‘३० मुनिका ३०’ अवधारणा भनेका छन् । ‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिको निश्चित संख्या तोकौं । उनीहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ लाई केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,’ महामन्त्री शर्माले भने ।

शर्माले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रमा सहभागिता सुनिश्चित गर्न प्रत्येक महादेशबाट एक-एक जना तथा मध्यपूर्वबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले देश, लोकतन्त्र र पार्टी नै खतरा परेको बताउँदै पार्टीभित्रको गुटबन्दी रोक्नुपर्ने बताए ।

‘देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनु पर्ने अवस्था आउनु हुँदैन । गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच र संकल्प ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,’ उनले भने । महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बिरगंज पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *