`

कांग्रेस महाधिवेशन माग गर्दै ध्यानाकर्षण पत्र

Nepal One HD २७ असोज २०८२ १७:१४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५ औँ महाधिवेशन मिति मंसिर मसान्तभित्र गर्न दबाब दिंदै ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रीय समिति बैठक बस्ने अघिल्लो दिन केन्द्रीय कार्यालयमा पुगेर मंसिरभित्र नियमित महाधिवेशन गर्ने कार्यातालिका ल्याउन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको ध्यानाकर्षण पत्र महाधिवेशन सुनिश्चित गर्न नसके कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

ध्यानार्षणपत्रमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र कार्य योजना ल्याउन आग्रह गर्दछौँ । अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग गर्दछौँ ।’ १५ औँ महाधिवेशनका सम्बन्धमा विधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह ९वडादेखि केन्द्रसम्म० युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम भएको उल्लेख छ । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै भएकाले मिति तोक्न माग गरेका छन् ।

उनीहरूले निर्वाचन, संसद् पुनस्थापनालगायतको विषयमा पनि पार्टीको स्पष्ट धारणा तय गर्न माग गरेका छन् । कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापालगायत नेताहरूले शुक्रवार नयाँ बानेश्वरमा बसेको छलफलको निष्कर्षसहित आज केन्द्रीय कार्यालयमार्फत सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘जेनजी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संवैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसद्को सबैभन्दा ठुलो दल तथा संविधान र लोकतन्त्रको पहरेदार पार्टीको हैसियत कायम गरी संसद्वादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *