`

देउवा दम्पती अस्पतालबाट डिस्चार्ज हुँदै

Nepal One HD ८ असोज २०८२ १२:१५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्य स्थिति विश्लेषणपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले जानकारी दिएका छन् । ‘सानेपा र जावलाखेलमध्ये एक ठाउँमा हुन्छ’, उनले भने, ‘उहाँहरूलाई जहाँ उपयुक्त लाग्छ, त्यहीँ जानुहुन्छ ।’

सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ । झम्सिखेलस्थित डा. राणाको स्वामित्वमा रहेको माइती घरसँगै तरुण दलका पूर्व अध्यक्ष तथा राष्ट्रियसभाका सदस्य जितजंग बस्नेतको घर छ ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न समय लाग्ने भएका कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको बताइएको छ । उनको आवास व्यवस्थापनका निम्ति राष्ट्रियसभा सदस्य बस्नेत सक्रिय छन् ।

जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पार्टीका नेताहरूले दिएका छन् । उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) को अगाडि छ । झम्सिखेलको घर भने होटल भिभान्ता नजिकै छ ।
प्रदर्शनकारीले आक्रमण गर्दा सभापति देउवाको गर्धनमा १२ टाँका लगाउनु परेको थियो । डा. राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरुलाई डिस्चार्ज दिन लागेको स्रोतले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *