कांग्रेसमा विशेष महाधिवेशनको दबाब ‘बेजोड’ : ५१ प्रतिशतको हस्ताक्षरसहित प्रस्ताव तयार


काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र नीतिगत परिवर्तनको मागसहित विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीको ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै प्रस्ताव तयार पारिएको छ । प्रस्ताव ढिलोमा भोलि बिहान पार्टी नेतृत्व समक्ष बुझाउने तयारी छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा देशभरबाट महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको हो । नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित कारण खुलाएर माग गरेमा तीन महिनाभित्र सभापतिले विशेष महाधिवेशन बोलाउनु पर्छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि हस्ताक्षर बुझाउने तयारी भएको नेताहरूले बताएका छन् । विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले तयार पारेको प्रस्ताव ‘कभर लेटर’ सहित बुझाइनेछ ।
संस्थापन पक्षको दबाब, मात्र ६ जना पछि हटे
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले हस्ताक्षर फिर्ता गराउन दबाब दिँदै आएको भए पनि हालसम्म जम्मा ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन् । कैलालीका ४ जना, डडेल्धुरा र जाजरकोटका गरी ६ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
कैलालीका यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले असोज २६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर हस्ताक्षर गराइएको भन्दै फिर्ता लिएको घोषणा गरेका थिए । तर, नेताहरूका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्दा स्पष्टरूपमा जानकारी दिइएको थियो ।
मंसिरमा महाधिवेशन गर्ने कि वैशाखमा ?
महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् । उनीहरूका अनुसार २०७८ साल मंसिरमा भएको १४औं महाधिवेशनपछि चार वर्षे कार्यकाल यसै मंसिरमा सकिँदैछ । तर, सभापति देउवा पक्ष मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै वैशाखपछि मात्रै गर्नुपर्ने अडानमा छ । नेताहरूले देउवा पक्षले समयमै महाधिवेशन नगर्न खोजेपछि बाध्य भएर विशेष महाधिवेशन मागिएको बताएका छन् । उनीहरूको भनाइमा यो माग विधिसम्मत छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउने कदम हो ।
सभापति देउवाको भूमिकामाथि प्रश्न
भदौ २४ गते बूढानीलकण्ठ निवासमा भएको जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनपछि सभापति देउवा अझै सार्वजनिक रूपमा देखिएका छैनन्। उनी कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकमा अनुपस्थित रहँदै आएका छन् । तर, सोमबारको केन्द्रीय समिति बैठकमा भने उनको उपस्थिति अपेक्षित गरिएको छ ।
पार्टीभित्र जेनजी पुस्ताको सक्रिय आन्दोलनले नेतृत्व फेरबदल र नीतिगत सुधारको माग बलियो बनाउँदै लगेको छ । विशेष महाधिवेशनको माग पनि सोही निरन्तरताको परिणामका रूपमा आएको विश्लेषण गरिन्छ । कांग्रेसभित्र नेतृत्व र समयमै महाधिवेशन नगर्ने अडानविरुद्ध आन्तरिक असन्तोष उच्च बिन्दुमा पुगेको छ । ५१ प्रतिशत बढी प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको माग विधिसम्मत रूपमा अगाडि बढाइएको छ । अब नेतृत्वले यो मागलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।