बाहिरबाट सरकार बनेको छ, चुनाव हुनेमा विश्वस्त हुन सकेका छैनौं : कृष्ण सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निर्धारित मितिमा चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका छन् । जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीले सत्ता छोडेर भाग्नुपरेको थियो । त्यसपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने म्यान्डेट लिएर सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । सरकारले चुनावको लागि स्रोत साधन जुटाएको बताइरहेको छ । निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
तर, बिहीबार निवासमा पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना केन्द्रीय सदस्यसँगको छलफलमा कांग्रेस नेता सिटौलाले चुनाव हुने भरपर्दाे आधार नै नबनेको बताएका हुन् । ‘निर्वाचन हुन्छ हुँदैन निश्चित छैन । संसद् विघटन छ । बाहिरबाट सरकार बनेको छ । सुरक्षाको केही ग्यारेन्टी छैन,’ सिटौलाले भने, ‘अहिले पनि कहिँ आगलागी भयो, तोडफोड भयो भने प्रहरी आउँछ कि आउँदैन कुनै संकेत देखाएको छैन । सुरक्षा निकायले सुरक्षा दिन्छ भन्ने जनता विश्वस्त छैनन् ।’
‘महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्याउन सक्छ’
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले महामन्त्रीद्यवको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् । बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्री सिटौलाले भने, ‘महामन्त्रीद्वयको यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्याइ दिन सक्छ ।’
सिटौलाले जेन–जी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए । संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनको अपिल थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अभियानमा सहभागी हुन बारम्बार फोन गरेको जानकारी गराउँदै सिटौलाले हस्ताक्षर गर्ने र नगर्नेबीचमा समूह विभाजन हुने उल्लेख गरे । यसले आगामी निर्वाचनमा पनि धक्का लाग्नसक्ने संकेत गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले एकजुट भएर निर्वाचनमा जाँदा अन्तर्घात हुने गरेको प्रसङ्ग उठाए ।
हस्ताक्षर अभियानले निर्वाचनमा पनि पार्टीभित्र दुई स्पष्ट धार देखिने उनको दाबी थियो । महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर विशेष महाधिवेशन बोलाउन मागसहित देशव्पापी हस्ताक्षार अभियान चलाइरहेका छन् । ५० प्रतिशत बढी कार्यकर्ताले हस्ताक्षर गरेको उनीहरूको दाबी छ ।