`

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने–केन्द्रिय समितिको म्याद थप्न खोजियो

Nepal One HD २ कार्तिक २०८२ १०:५१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्धत रहेको देखिएको बताए ।

वर्तमान केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको बताए । कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताए । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको जिकिर गरे । केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे ।

आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पारे । आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन सचेत गराए । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको बताए । उनले केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस आफूहरुले गरेको बताए । उनले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महसुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताए । उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताए । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बताए । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ का घटनाहरुले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरु निन्दनीय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नै पर्छ । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो की ? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरु कारक छन् की ।’

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७ (२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन् । —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *