कांग्रेस सुधार्न नैनसिंह महरले अघि सारे यस्ता सुझाव
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी रुपान्तरणका लागि झण्डै तीन दर्जन सुझाव अघि पारेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी रुपान्तरणका लागि लिखित रुपमा पेस गरेको दस्तावेजमा जन भावनाअनुसार काम गर्न संरचनामा सुधार गर्नुपर्ने बताएका छन् ।
उनले गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । नयाँ क्रियाशील सदस्यता लिँदा र वीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गर्न सके पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुने उल्लेख छ ।
हेर्नुस् महरका ३४ बुँदे सुझाव
१. एक व्यक्ति एक पद दुई पटक र एक व्यक्ति तीन पटक मात्र सांसदको उम्मेदवार बन्न पाउने व्यवस्था गरिनुपर्छ। पार्टीका सबै तहमा अनिवार्य रूपले एक पदमा बढीमा दुई पटक मात्र रहन पाउने र विजय होस् वा पराजय, तीन पटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्छ। कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ ।
२. तल्लो तहदेखि माथिल्लो तहका कार्यकर्ता तथा नेताहरूलाई जागृत गराउन युवा कांग्रेसको स्थापना गरेर जागरण अभियान सुचारु गर्न आवश्यक छ ।
३. विधानको अक्षरशः पालना हुनुपर्छ ।
४. गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गरौं भन्ने आग्रह गर्दछु ।
५. नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गरौं। यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।
६. वडाध्यक्ष (सभापति) को नेतृत्वमा भ्रातृ संस्थाको एकीकृत टोली निर्माण गरेर ६ हजार ७४३ वडामा जाने ।
७. पार्टी र जनप्रतिनिधिबीच समन्वय गर्ने संयन्त्र बनाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
८. वडाध्यक्ष, वडा सभापतिदेखि केन्द्रमा केन्द्रीय सदस्य, विभागीय प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्मले चौमासिक कार्य प्रगति विवरण पार्टीको तोकिएको निकायमा बुझाउने ।
९. पार्टीका नेता र जनप्रतिनिधिलाई जनताप्रति, घोषणापत्रप्रति उत्तरदायी बनाउन संयन्त्र निर्माण गर्ने ।
१०. कांग्रेसका परिवार (पुराना मतदाता) लाई आफ्नो पक्षमा राख्न नसक्नुको कारण पत्ता लगाई समाधान खोज्ने ।
११. व्यक्तिभन्दा संस्था कसरी बलियो बनाउने भन्ने विषयमा कसैको चासो नभएको हुँदा नेपाली कांग्रेस पार्टी बलियो हुँदा देश र जनता बलियो हुने कुरा तल्लोदेखि माथिल्लो तहमा बहस चलाउने ।
१२. पार्टीभित्र टिकट वितरण गर्दा वडा तहको वडामै र जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा टुङ्ग्याउनु पर्ने ।
१३. पार्टी थिङ्कट्याङ्ङ्क– देश र पार्टीका लागि आवश्यक विषयवस्तु र नीति निर्माण गर्न नेपाली कांग्रेसको अलग्गै थिङ्क ट्याङ्क आवश्यक छ । उक्त थिङ् ङ्कट्याङ्कको विमर्श र छलफलबाट निकालेको निष्कर्ष पार्टीभित्र र सार्वजनिक क्षेत्रका लागि उपयोगी हुन्छ ।
१४. वडाधिवेशनदेखि केन्द्रको महाधिवेशनसम्मका सबै तहको अधिवेशन-महाधिवेशनमा प्रतिनिधि बन्न अनिवार्य रूपले सम्बन्धित तहको निर्वाचन जितेर आउनुपर्ने व्यवस्था मिलाउने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नु पर्दछ । यसबाट केन्द्रको जिम्मेवारी लिने नेता आम कार्यकर्ता र भूगोलप्रति बढी जिम्मेवार हुन्छन् ।
१५. अहिले समाजको मनोविज्ञानमा आएको परिवर्तनलाई ख्याल गरेर नेपाली कांग्रेसले पनि आफूलाई स्वीकार्य बनाउन जरुरी छ । कांग्रेसको सङ्गठनमा काम गर्न समाजका अन्य समुदाय, वर्गबाट जुनसुकै बेला अनुरोध गर्न सक्छन् । जनताको विश्वास र भरोसा कमाएका व्यक्ति यदि कांग्रेसमा रहेर काम गर्न चाहन्छन् भने निश्चित प्रतिशतमा (ल्याटरल इन्ट्री) को प्रबन्ध आवश्यक छ ।
१६. भ्रातृ संस्थाको नियमित महाधिवेशन, अधिवेशन, निर्वाचन र नेतृत्व चयनले लोकतान्त्रिक संस्कृतिमा निखार आउँछ र आन्तरिक लोकतन्त्र संस्थागत हुँदै जान्छ ।
१७. भ्रातृ संस्थाको केन्द्रीय अध्यक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था बनाउनु पर्छ ।
१८. भ्रातृ संस्थाको चौमासिक रिपोर्ट आफूभन्दा माथिल्लो समिति र सम्बन्धित तहको पार्टीमा अनिवार्य बुझाउने ।
१९. जलवायु परिवर्तन र विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणका लागि सरकारी, गैरसरकारी र संस्थाहरूलाई भूमिका प्रदान गर्ने नीति अवलम्बन गरी राष्ट्रिय अभियान सञ्चालन गर्न आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले वडादेखि केन्द्रसम्मका सबै तहमा एक छुट्टै संयन्त्र बनाई परिचालन गर्नुपर्नेछ (कार्यदल बनाउने) । यसलाई प्राकृतिक स्रोतसाधनको व्यवस्थापन तथा परिचालन अभियान पनि भन्न सकिन्छ ।
२०. आचारसंहिताः देश परिवर्तनको अभिभारा बोकेको दलका नेता कार्यकर्ताहरू स्व–अनुशासनमा बस्न र नैतिकताको मापदण्डभित्र बस्नु पर्दछ । जनताको नेता आफ्नो जनताको संस्कृतिसँग मेल खाने गरी सहज, साधारण र सफा जीवनशैलीको हुनु पर्दछ । तडकभडक, उपयोगितावादी चरित्रबाट टाढा रहनु अनिवार्य छ ।
२१. प्रविधिमैत्री पार्टीको निर्माण ।
२२. पार्टीमा ज्ञान व्यवस्थापन र हस्तान्तरण प्रणालीको विकास ।
२३. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने ।
२४. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने।
२५. प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता लिनुभन्दा अघि साधारण सदस्यले नेपाली कांग्रेस पार्टी, राजनीति, अर्थतन्त्र, राष्ट्रियता र समाजलगायतका विषयमा अनिवार्य प्रशिक्षणको व्यवस्था।
२६. अतिआवश्यक कामबाहेक पार्टीका सबै नेता कार्यकर्ताले हिउँदे र वर्षे सिजनमा १०÷१० दिन कृषिमा काम गर्ने, यसबाट श्रमप्रति सम्मान बढ्छ। गाउँ–सहरलाई टेवा पुग्छ ।
२७. जनसम्पर्क समितिः विभिन्न ३७ देशमा रहेका जनसम्पर्क समितिहरूलाई बिनाभेदभाव पार्टीलाई जिम्मा दिनुपर्छ । एनआरएनएको क्लस्टर जस्तै, हरेक महादेशबाट १÷१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्छ ।
२८. कांग्रेसको पालिका अध्यक्ष प्रदेश, केन्द्रको स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ।
२९. ७७ वटै जिल्लाबाट काठमाडौँ बसोबास गरेका पार्टीका साथीहरूले जिल्ला सम्पर्क समितिका माध्यमबाट आफ्ना गतिविधि बढाउनु पर्छ ।
३०. सक्रिय हुन जिल्ला सम्पर्क समितिको अध्यक्ष महाधिवेशन प्रतिनिधि हुने व्यवस्था मिलाउने ।
३१. नेपाली कांग्रेसले आफ्नै साङ्गठनिक तागतमा अबदेखिका निर्वाचनमा एक्लै प्रतिस्पर्धामा होमिने ।
३२. क्रियाशील सदस्यलाई नवीकरण गर्ने र प्रशिक्षणका माध्यमले नेपाली कांग्रेसका सदस्यहरूलाई सशक्तीकरण गर्ने। सबै तहमा युवाको प्रतिनिधित्व कम्तिमा पनि एक तिहाई राख्ने गरि विधानलाई युवामैत्री बनाउने ।
३३. नेपाली कांग्रेसका १३ भ्रातृ र ३६ शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने ।
३४. ३७ नेपाली जनसम्पर्क समितिहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने। उनीहरूका माध्यमले गैरआवासीय नेपालीले राख्दै आएका नागरिकता, मतदानलगायत राजनीतिक अधिकार, लगानीको वातावरण र सहजीकरणलगायत विषयमा विमर्श गर्ने र पार्टीका दूतका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने र ग्लोबल थिङ्कट्याङ्क निर्माण गर्ने।
३५. स्थानीय तहका ७५३ मध्ये ३३२ पालिकामा नेतृत्वमा कांग्रेस रहेको छ । घोषणापत्र कार्यान्वयन, सुशासन र विकासबारे अडिट गर्ने र नागरिकको भरोसा जित्ने ।
