`

निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन सक्दैन: मुख्यमन्त्री बानियाँ

Nepal One HD १५ वैशाख २०८३ ६:१०
राजनीति

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन नसक्ने बताउनुभएको छ ।

यहाँ मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र बुझ्दै उहाँले विकास निर्माणको कार्यमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सरकारी राजस्वको ठूलो हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने भएकाले यस क्षेत्रको मागप्रति सरकार लचिलो हुनुपर्ने भन्दै मुख्यमन्त्री बानियाँले निर्माण साम्रगीमा भएको अस्वाभाविक मूल्य वृद्धिबाट परेकोे असरप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले कानुनी उपचार र विगतको नजिरलाई हेरेर आयोजनाको म्याद थपको प्रक्रिया थाल्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “प्रदेश सरकारले विगतमा भएको सङ्घीय सरकारका नजिरलाई हेरेर सङ्घीय र स्थानीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार समन्वय गरेर निर्माण व्यवसायीलाई पर्न गएको समस्या समाधानका लागि पहल गरिनेछ ।”

उहाँले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकाले धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका प्रदेश अध्यक्ष छत्रबहादुर तामाङको नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण सामग्रीमा अप्रत्याशित एवं अत्यधिक मूल्य वृद्धि र बजारमा ती सामग्रीको अभावले निर्माण उद्योग समस्यामा परेको भन्दै महासङ्घले मूल्य समायोजनको माग गरेको छ ।

अध्यक्ष तामाङले प्रत्येक आयोजनामा मूल्य वृद्धि भएअनुरुप तत्काल निर्देशिका गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी आग्रह गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *