`

गगन–विश्वप्रकाशले अडान नछाड्दा पूर्णबहादुरलाई पर्‍यो ‘सकस’

Nepal One HD २८ कार्तिक २०८२ १८:३४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलगायत विवादित विषयले आकार लिँदै गएपछि कार्यसम्पादन समितिले यसको समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मुख्य समन्वयकर्ताको भूमिकामा अगाडि सारेको छ ।

ललितपुरको धोबीघाटमा बसेको कार्यसम्पादन समितिको आजको बैठकमा खड्कालाई पदाधिकारीदेखि असन्तुष्ट ध्रुवहरूसम्म सबैसँग छलफल गरी साझा प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए ।

महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अडान नछाड्दा पार्टीभित्र सहमति खोज्न कठिनाइ बढिरहेको छ । उनीहरू नियमित महाधिवेशन सम्भव नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने मागमा स्थिर छन् । यतिबेला संस्थापन पक्ष भने वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा रहेकाले दुवै धारबीचको टकराव अझ बलियो बनेको छ ।

अब पदाधिकारी बाहिर रहेका प्रमुख नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलगायतसँग पनि विस्तृत परामर्श थालेका छन् । यी नेताहरूबीच विभिन्न धारणा रहेकाले सहमति जुटाउन सजिलो हुने अनुमान गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट आज (शुक्रबार) फर्किदै छन् । शीर्ष नेताहरूले देउवाको सहभागितामा अन्तिम रूपले सहमति मिलाउने प्रयास गर्ने बताइएको छ।

खड्काले तयार गर्ने प्रस्ताव भोलि बस्ने कार्यसम्पादन समितिको बैठकमा पेस हुनेछ । प्रस्तावमा सहजै सहमति भए भोलि नै निर्णय टुंगिन सक्छ। असहमति रहिरहे पर्सी मात्र केन्द्रीय समितिको बैठक बस्ने सम्भावना रहेको राठौरको भनाइ छ । महाधिवेशन कहिले गर्ने भन्ने प्रश्न कांग्रेसभित्र पछिल्ला दिनहरूमा प्रमुख विवादको विषय बनेको छ । अब सबैको नजर खड्काले तयार पार्ने सहमति प्रस्ताव र शीर्ष नेताहरूबीच हुने अन्तिम समन्वयतर्फ केन्द्रित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *