गगनमाथि जितजंगको कटाक्ष : हामी नेपो किड्स पनि हैनौं, नेपो ज्वाइँ पनि हैनौं’
काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारीे केन्द्रीय कार्यसमिति बैठक बुधबार आरोप–प्रत्यारोप चलेको छ । बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगनकुमार थापामाथि कडा प्रश्न उठाउँदै विशेष महाधिवेशनको नाममा ‘संगठन कब्जा गर्न खोजिएको हो कि ?’ भनेर आशंक व्यक्त गरेका छन् ।
बस्नेतका अनुसार विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर सनाखतको जिम्मेवारी स्वयं महामन्त्रीले पनि लिनुपर्ने हुन्छ । तर उनले त्यो जिम्मेवारी नलिएर संगठन कब्जाको योजना अघि सार्ने प्रयास गरेको आशंका उनले व्यक्त गरे । उनले प्रश्न गरे, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, त्यसको जिम्मेवारी महामन्त्रीले पनि लिनुपर्छ । सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’
बस्नेतले पार्टीमा आफूहरू पनि त्याग, समर्पण र रगत–पसिनाको हिस्सा रहेको स्मरण गराउँदै अहिलेको प्राथमिकता नेतृत्व परिवर्तन होइन, नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । उनले भने, ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन होइन, पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीमा पुनरावलोकन हो । विशेष महाधिवेशन भन्नेहरूसँग प्रश्न छ–कुन नियमावली ? कुन कार्यविधि ? कसरी व्यवस्थापन गर्ने ?’
उनले थपे, ‘क्रियाशील सदस्य छानबिन समितिको संयोजक स्वयं महामन्त्री ज्यू, तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन ?’ बस्नेतले माग गरे, ‘यदि मंसिरमा महाधिवेशन सम्भव छ भने तालिका ल्याउनोस् । तर तालिका ल्याउनुअघि क्रियाशील छानबिन, वितरण; दोस्रो चरणमा वार्डदेखि तहगत अधिवेशन; अनि अन्त्यमा केन्द्रीय अधिवेशन–यही व्यवस्थित क्रमअनुसार अघि बढ्नु पर्छ ।’
उनले गगन थापाद्वारा पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै नसमेटिएको भन्दै प्रस्ताव स्वयंले नै पुसमा महाधिवेशन असम्भव भएको पुष्टि गर्ने टिप्पणी गरे । ‘महामन्त्री ज्यूले प्रस्तुत गर्नुभएको प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका छैन, त्यसैले पुसमा महाधिवेशन असम्भव छ भन्ने कुरा प्रस्तावले नै देखाउँछ’, उनले भने । बैठकमा गगन थापालाई प्रत्यक्ष सम्बोधन गर्दै बस्नेतले भने, ‘हामी नेपो किड्स पनि हैनौं, नेपो ज्वाइँ पनि हैनौं । देश, पार्टी र लोकतन्त्रका लागि आवश्यक परेको बेलामा हामीले अग्रपंक्तिमा उभिएर लडेका छौं । जिम्मेवारीबाट भाग्ने होइन, जिम्मेवारी वहन गर्ने मान्छे हौं ।’
सानेपाको बैठकमा बस्नेतको यो प्रहारपछि कांग्रेसभित्रको गगन समूह र संस्थापन पक्षबीचको तनाव अझ खुला रूपमा सतहमा आएको देखिएको छ । पार्टीभित्र अहिलेको बहस केवल महाधिवेशनको मिति होइन, संगठनको नियन्त्रण र भावी नेतृत्वको दिशाबारे पनि रहेको संकेत बैठकका वक्तव्यहरूले दिएको छन् ।
