`

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, जुट्ला महाधिवेशन तालिकामा सहमति ?

Nepal One HD १८ कार्तिक २०८२ ७:५३
नेपाली कांग्रेस

काठमाडौं । महाधिवेशन मिति तोक्ने विषयको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा नेताहरुबीच अझै सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । नयाँ बानेश्वरमा बसेको भेलाले महाधिवेशनको मिति समेत प्रस्ताव गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा पेस गर्ने ७ बुँदे प्रस्ताव तयार पारेको हो ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रिय रहन आह्वान गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि पौष १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्पन्न गर्न, देशव्यापी घरदैलो अभियान सञ्चालन गर्न र निर्वाचनका लागि जागरण अभियानमार्फत संगठनलाई तयारी अवस्थामा राख्न प्रस्ताव गरिएको छ ।

भेलाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका उम्मेदवारहरूको सिफारिस प्रक्रिया अघि बढाउन समेत सुझाएको छ । भेलाले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०८३ साल वैशाख २५, २६, २७ र २८ गते पार्टीको १५ औं केन्द्रीय महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ।

पार्टीभित्र अवसरको न्यायोचित वितरण हुनुपर्नेमा जोड दिँदै संस्थापन पक्षले समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू बनाउँदा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरू बाहेक, हालसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरूलाई उचित प्रतिनिधित्व गराउन माग गरिएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता छानबिन समिति र विधान संशोधन समिति तत्काल गठन गर्न पनि भेलाले प्रस्ताव गरेको छ ।

केन्द्रीय सदस्य गुरु बरालका अनुसार यी प्रस्तावहरू संस्थापन पक्षको साझा धारणाको रूपमा पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ। संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनु पर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *