`

कांग्रेस संस्थापन पक्ष छुट्टै छलफलमा

Nepal One HD १७ कार्तिक २०८२ ११:५७
प्रमुख खबर

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको आज छुट्टै भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा केन्द्रीय कार्य सम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका हुन् । भेलामा पूर्वमन्त्री समेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । भण्डारीले भने, ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ ।’

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् । यस्तै संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् । नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौँ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’ ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन’, बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *