कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ । साझा एजेण्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।
