`

कांग्रेसको बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका टुंग्याउने तयारी

Nepal One HD १५ मंसिर २०८२ ७:३१
नेपाली कांग्रेस

काठमाडौं । लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) दिउँसो २ बजेदेखि सानेपास्थित पार्टी मुख्यालयमा बस्दैछ । १५औं महाधिवेशनको कार्यतालिकालाई अन्तिम रूप दिने उद्देश्यसँगै बस्न लागेको बैठकलाई निर्णायक चरणको रूपमा हेरिएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका बैठकमा पेस गर्ने तय भएको पार्टी स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले पुस अन्तिम साताभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने तयारी गर्दै आएको छ । प्रारम्भिक योजना अनुसार पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार पारिएको छ । तर नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै पक्षका नेताहरूबीच सहमति नजुट्दा अन्तिम निर्णय बारम्बार ढिलिएको हो ।

गत असोज अन्त्यबाट चलिरहेको बैठकहरुमा सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आम निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने देउवाको धारणा र मध्यमार्गी प्रस्तावहरू पछि नजिकिएका नेताहरूको सहमतिबाट आजको बैठक निर्णायक बन्न सक्ने देखिएको छ ।

असोज २९ गते विशेष महाधिवेशन बोलाउन मागसहित निवेदन दर्ता भएपछि पुस २८ गतेभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधानले पार्टीमा थप दबाब सिर्जना भएको छ । यही कारण पुस २७ देखि महाधिवेशन चलाउन सकिने वैकल्पिक समयतालिका तयारी भइरहेको र आजको बैठकमा औपचारिक रूपमा टेबुल हुनसक्ने एक नेताले बताएका छन् ।

महामन्त्री गगन थापा नेतृत्वको समूहले समेत सबै शीर्ष नेताहरू इमानदारीपूर्वक अघि बढे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा राखेपछि सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन प्रस्ताव तयारी गर्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशनको माग फिर्ता हुने संकेत देखिन थालेसँगै नियमित महाधिवेशनको कार्यतालिकामा सहमति बन्ने वातावरण तयार हुँदैछ । यसैले आजको केन्द्रीय समिति बैठकबाट आधिकारिक कार्यतालिका टुंग्याई कांग्रेस महाधिवेशनतर्फ औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *