कांग्रेस महाधिवेशन तालिकामा गगन थापाको अतिरिक्त प्रस्ताव, हस्ताक्षर फिर्ता नगर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति तोकिए पनि संशय भने बाँकी नै रहेको छ । केन्द्रीय समितिको बैठकमा आफूले धारणा राख्न मौका नपाएको भन्दै महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष अतिरिक्त धारणा दर्ता गराएका छन् ।
थापाले महाधिवेशनको तालिका, समय अन्तराल तथा तयारी प्रक्रियाबारे प्रश्न उठाउँदै तोकिएको मितिमा महाधिवेशन हुन नसके ‘हस्ताक्षर फिर्ता नहुने’ र त्यसपछि विशेष महाधिवेशनको स्थिति सिर्जना हुने स्पष्ट संकेत दिएका छन् ।
दोस्रोतर्फ, महामन्त्री विश्वप्रकाश शर्माले पनि पुस २६–२८ मा तय भएको महाधिवेशन मिति धकेल्ने कुनै प्रयास भए ‘विशेष महाधिवेशन’ को विकल्प अनिवार्य हुने चेतावनी दिएका छन् । सानेपामा सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा त्यसलाई अन्योलमा पार्न खोजिनु पार्टीको आन्तरिक लोकतन्त्रविरुद्ध जाने बताएका हुन् ।
शर्माले विशेष महाधिवेशन माग्दै गरिएको हस्ताक्षर अझै केन्द्रीय कार्यालयमा सुरक्षित रहेको उल्लेख गर्दै नेताहरूले त्यसलाई बिर्सिन नहुने टिप्पणी गरे । सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिने बताइसकेका कारण उनलाई विशेष महाधिवेशनमा तान्ने प्रयास अनुचित हुने उनको भनाइ छ ।
आगामी विधान संशोधनले युवालाई नेतृत्वमा आउन सहज बनाउने भन्दै उनले पार्टीका सबै तहमा तयारी अवस्थामा बस्न आग्रह गरे । यसैबीच, कार्यवाहक सभापति खड्काले प्रस्तुत गरेको तालिकालाई केन्द्रीय समितिले स्वीकृति दिए पनि शीर्ष नेताहरूका फरक धारणा र चेतावनीसहित कांग्रेसभित्र महाधिवेशनको समय, प्रक्रिया र नेतृत्व हस्तान्तरणको बहस थप तीव्र बन्दै गएको छ ।
