`

देउवा नेतृत्वको कांग्रेस कार्य समितिको थपियो म्याद

Nepal One HD १५ मंसिर २०८२ १६:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थपिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो ।

अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।

‘अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैन’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् । सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने स्पष्ट पारेका हुन् ।

‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुप¥यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि,’ महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

उनले विशेष महाधिवेशनको माग निष्कृय हुने बताए । ‘स्वतः निष्कृय यस मानेमा पनि हुन्छ किनकी हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौं । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५ औंले,’ महतले भने, ‘विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’ विशेष महाधिवेशन पक्षधरले २९ असोजमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *