`

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन : खड्का

Nepal One HD २७ मंसिर २०८२ १५:४२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन नै भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठानेको स्मरण गराए । उनले भने, ‘मुलुकलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र माध्यम निर्वाचन हो ।’

उनले सरकारले निर्वाचनको वातावरण बनाउन सकिनुपर्ने पनि बताए । ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचनको वातावरण तयार पार्ने दिशामा अघि बढेका छन् कि छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘हामी यसतर्फ गम्भीर छौं र सरकार पनि यसमा गम्भीर हुनुपर्छ ।’ जेनजी आन्दोलनको घटनाबारे गठित आयोगले गरेका निर्णयले पनि निर्वाचनको वातावरण तयार पार्न पर्याप्त योगदान नगरेको खड्काले बताए । ‘नेताहरूका स्थानसम्बन्धी निर्णयहरू र अन्य कार्यहरूले शंका बढाएका छन्। आयोग सतर्क हुनुपर्छ,’ उनले जोड दिए ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू अत्यन्तै अकल्पनीय रहेको उनको भनाइ थियो । उनले यस घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्दै गएको र भविष्यमा अझ खुल्ने बताए । हालको राजनीतिक परिस्थितिमा सबै दल एकजुट भएर लोकतन्त्रलाई सुरक्षित गर्नुपर्ने खड्काको धारणा थियो । उनले विगतमा पनि लोकतन्त्र रक्षा गर्न राजनीतिक दलहरूले एकजुट भएर काम गरेको स्मरण गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *