देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । देउवाले भोलि (शनिबार) बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूलाई छलफलमा बोलाएका हुन्। स्रोतका अनुसार सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङलाई छलफलमा बोलाएका हुन्। यस्तै देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बैठकमा बोलाएका छन् । उनीहरूबीचको छलफल आगामी महाधिवेशनका विषयमा केन्द्रित हुने बताइएको छ।
स्रोतका अनुसार महाधिवेशनमा प्रस्तुत गर्ने विधान शंसोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ। ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाई भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’ यसबाहेक क्रियाशील सदस्यता नवीकरण वितरणको अवस्था, संसद् पुनःस्थापनाको पक्षमा भइरहेको हस्ताक्षर, निर्वाचनको वातावरणलगायत विषयमा छलफल हुने स्रोत बताउँछ। ‘पुस अन्तिममा महाधिवेशन गर्ने भनिएको छ। क्रियाशीलको फारमकै विषयमा लफडा भयो,’ स्रोतले थप्यो, ‘महाधिवेशन कार्यतालिकामा यसले पार्ने प्रभावलगायत विषयमा छलफल हुनेछ।’
पार्टीले यही पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले रकेट स्टाइलमा महाधिवेशन गर्ने गरी कार्यतालिका आएको भन्दै व्यंग्य गर्दै आएका छन्। उनी बाहेक नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलालगायत नेता कार्यकर्ताले कार्यतालिका व्यवहारिक नभएको भन्दै कार्यान्वयन नहुने चिन्ता व्यक्त गर्दै आएका छन्। कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ।
