`

गुल्मीमा स्कार्पियो दुर्घटना, ६ जनाको मृत्यु

Nepal One HD १० कार्तिक २०८३ १९:४२
समाज

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
मृत्यु हुनेमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु भएकामध्ये सीता पाण्डे, कुलानन्द पाण्डे र नीता बगालेको उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ। नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, सोही स्थानकी गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको जनाइएको छ । उहाँहरूमध्ये दुई जनाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ।

स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो आज अपराह्न ४ बजेको समयमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित भित्री सडकमा दुर्घटना भएको उक्त स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ।

घटनाको जानकारी पाएपछि स्थानीवासी एवं प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीकोे सहयोगमा उद्धार गरिएको थियो। दुर्घटनाको कारणबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *