`

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गरे चुनाव नलड्ने घोषणा

Nepal One HD २६ मंसिर २०८२ १५:३१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृह जिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् । पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरुलाई मौका दिने बताएका हुन् । २०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेनजी आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।

आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिदै चुनाव नलड्ने उनले बताएका छन् । पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तक्र्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन् । उनका अनुसार अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पु¥याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ ।

पूर्व मन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ‘पर्यटन मन्त्री वर्ष ‘ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागिपरेको उल्लेख गरे । आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरेका छन् । कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिष्पर्धा गर्ने भन्ने विषय पार्टीका साथी तथा नेताहरूसँगको सल्लाहमा तय गर्ने समेत बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *