`

एनपीएल–२ : कसले के–के जिते पुरस्कार ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले उपाधिसँगै व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीका खेलाडीहरू प्रतियोगिताका मुख्य आकर्षण बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए । उपाधि यात्रामा निर्णायक भूमिका खेलेका ट्रम्पलमनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै उपयोगी ६५ रन समेत बनाए । उनले सर्वोत्कृष्ट खेलाडी बने बापत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ट्रम्पलमन नै प्लेयर अफ द म्याच घोषित भए ।

लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताका सबैभन्दा सफल खेलाडीमध्ये एक बने । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिएर टोलीको नेतृत्व गरे । यस प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर घोषित भए भने प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि पनि उनकै नाममा रह्यो । रोहितले ओमोडा कार प्राप्त गरे भने उत्कृष्ट ब्याटरको रूपमा पल्सर बाइक समेत हात पारे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिए र यस उपलब्धिका लागि पल्सर बाइक प्राप्त गरे। उदीयमान खेलाडीको उपाधि भने लुम्बिनीका शेर मल्लले जिते । उनले पनि १७ विकेट लिँदै भविष्यका सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गरे र पल्सर बाइक पुरस्कार पाए ।

सुदूरपश्चिमका अविनाश बोहरा रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । १७ विकेटसहित उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । यस्तै लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । समग्रमा एनपीएल सिजन–२ लुम्बिनी लायन्सका लागि ऐतिहासिक रह्यो । उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडी र अन्य महत्वपूर्ण पुरस्कारहरू जित्दै लुम्बिनीले नेपाली फ्रेन्चाइज क्रिकेटमा आफ्नो बलियो पहिचान बनाएको छ ।

रोहित पौडेलले जिते एनपीएलमा कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । उनले कार पुरस्कार पाएका छन् । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए ।

उनको एनपीएलमा नौ विकेट भएको छ । उनी फाइनल खेलमा १६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले १० खेलमा दुई सय ७६ रन बनाए । उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि हुन् । उनले मोटरसाइकल पनि पुरस्कार पाएका छन् ।

रोहित पौडेलले लिए ह्याट्रिक विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ऐतिहासिक प्रदर्शन गर्दै खेलको धार नै मोडिदिएका छन् । निर्णायक फाइनलमा सुदूरपश्चिम रोयल्स लगातार विकेट गुमाउँदै गहिरो दबाबमा परेको छ । ११ औं ओभरसम्म आइपुग्दा सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको छ । यही ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसहित दीपक बोहरा र पुनित मेहरालाई शून्यमा आउट गर्दै दर्शकलाई रोमाञ्चित बनाएका हुन्।

ह्याट्रिक विकेटमध्ये सबैभन्दा महत्वपूर्ण विकेट कप्तान ऐरीको थियो । ऐरीले १ छक्का प्रहार गर्दै २० बलमा १३ रन बनाएका थिए र पारी सम्हाल्ने प्रयास गरिरहेका थिए । तर रोहितको सटीक बलिङ अगाडि उनी टिक्न सकेनन्। दीपक बोहरा र पुनित मेहराले भने खाता नै खोल्न नपाई पवेलियन फर्किनुपर्‍यो ।

रोहित पौडेलले आफ्नो ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चिँदै तीन महत्वपूर्ण विकेट लिएका छन् । उनको कसीलो बलिङले सुदूरपश्चिमको ब्याटिङ लाइनअप पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । यसअघि नै सुदूरपश्चिमले विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाइसकेको थियो । लगातार विकेट पतनका कारण टोली दबाबमा परेको स्पष्ट देखिएको छ । रोहित बाहेक लुम्बिनी लायन्सका बलरहरू पनि प्रभावशाली देखिएका छन् । रुबेन ट्रम्पलम्यानले दुई विकेट लिँदा शेर मल्लले एक विकेट आफ्नो नाममा लेखाएका छन् । फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूको आक्रामक प्रदर्शनले उपाधि दौड झनै रोचक बनेको छ । अब सुदूरपश्चिम रोयल्सका लागि बाँकी खेलाडीले कसरी सम्हाल्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।

 

 

एनपीएल फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।

फाइनल खेल ३ः३० बजे शुरू हुनेछ । दुईमध्ये जुन टोलीले उपाधि जिते पनि एनपीएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित छ । खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ। सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, पुनित मेहरा।

लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोबिन सुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।

गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नयाभँ च्याम्पियन पाउँदैछ । योसँगै एक खेलाडीले दोस्रो पटक एनपीएलको उपाधि उचाल्ने इतिहास बनाउने छन् । गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए । यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए ।

त्यसैले हेमन्त वा शेर मध्ये एक खेलाडीले लगातार दोस्रो पटक उपाधि जित्ने पक्का छ । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । यस्तै लुम्बिनी भने प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो। तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो । त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज (मंगलबार) सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच भिडन्त हुँदैछ। उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले पनि फाइनलमा पुग्न अर्को अवसर पाउने छ।

यो खेलमा पराजित हुने टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच बुधबार हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । एनपीएलको दोस्रो संस्करणमा विराटनगर र सुदूरपश्चिम दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि, लिग चरणमा पनि यी दुई टोलीबीच खेल भएको थियो । उक्त खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो । जारी प्रतियोगितामा सुदूरपश्चिम हालसम्म आफूले खेलेको सातमध्ये ६ खेलमा विजयी भएको छ भने एक खेलमा मात्र पराजित भएको छ ।

अर्कोतिर, एनपीएलको दोस्रो संस्करणमा विराटनगर हालसम्म आफूले खेलेको सातमध्ये पाँच खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । सुदूरपश्चिम एनपीएलको साबिक उपविजेता हो । सुदूरपश्चिम अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । विराटनगर भने अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो । पहिलो संस्करणको लिग चरणमा विराटनगर छैटौं भएको थियो ।

 

 

 

 

 

 

कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो ।

कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए ।
यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमुर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले २ विकेट लिए ।

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो एनपीएल प्रतियोगिताकै कम लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई प्रतियोगिताकै कम १२१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो ।

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।

चितवनले टस जित्यो, पोखराले पहिला बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ त्रिवि क्रिकेट मैदानमा कुशल मल्लले टस जितेर पोखरालाई बलिङको निम्तो दिएको हो । यी दुई टिमले पाँचौं र छैटौं स्थानका लागि खेल्ने छन् ।

दुवै टिमले यो सान्त्वना जितको लागि खेल्ने छन् । प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार–चार अङ्क मात्रै रहेको छ ।

एनपीएल : अर्धशतककोे संख्या ३३ पुग्यो

काठमाडौं । राजधानीमा जारी एनपीएलमा अर्धशतकको संख्या ३३ पुगेको छ । विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको संख्या ३३ पुगेको हो । जसमा २९ खेलाडी सामेल छन् ।

यसअघि जारी ‘सिजन’ मा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई-दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन, रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साँउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

सुदूरपश्चिमको अपराजित यात्रा ‘ब्रेक’ गर्दै विराटनगर क्वालिफायरमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

१४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५ ओभरमै लक्ष्य पूरा गर्दै विराटनगरले सनसनीपूर्ण जित निकालेको हो । आजको जितसँगै विराटनगर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डु गोर्खाजसँग समान १० अंक भए पनि विराटनगर रनरेट अघि रहेको हो । यसअघि सुदुरपश्चिमले शीर्ष स्थान बनाइसकेको थियो । आज पराजित भएसँगै उसको ६ खेलको जितको यात्रामा भने पूर्णविराम लागेको छ ।

यससँगै अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित दोस्रो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डु १० अंकसहित तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो भए। अब पहिलो सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ । हार्ने टोली बिहीबार हुने दोस्रो क्वालिफायनरमा पुग्नेछ ।

बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्ने छन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ । विराटनगर सुदूरपश्चिमले दिएको १४८ रन लक्ष्य ११.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । आक्रामक सुरूवात गरेको विराटनगरका लागि फाप डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गरेका थिए । उनले २० बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे ।

उनले पहिलो विकेटका लागि साम हिजलेटसँग ७.१ ओभरमा ९७ रनको साझेदारी गरे । फापलाई सुदूरपश्चिमका अभिनास बोहराले बोल्ड गरेका थिए । ओपनर हिजलेटले २७ बलमा ५१ रन बनाए । उनलाई हर्मित सिंहले नवौं ओभरको दोस्रो बलमा विकेट पछाडि विनोद भण्डारीबाट क्याच गराए । हिजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।

विराटनगरका लागि मार्टिन गप्टिल भने ११औं ओभरको दोस्रो बलमा रनआउट हुन पुगे । उनले ९ बलमा २२ रन जोडे । विराटनगरले १० ओभरमै २ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । १२औं ओभरमा बसिर अहमद ८ रनमा आउट भए । उनलाई पनि अभिनासले क्याच गराए । १२औं ओभरको चौथो र पाँचौ बलमा अभिनासलाई नै प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गरेर विराटनगरको सनसनीपूर्ण जितको हिस्सा बने ।

त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलले ६ विकेटको क्षतिमा १४७ रन बनायो । सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । सुदुरपश्चिमका ओपनरद्वय विनोद भण्डारी १५ रन र जोश ब्राउन २४ रन जोडेर आउट भए ।

चौथो ओभरमा विराटनगरका बसिर अहमदबाट बोल्ड भएका भण्डारीले १३ बलमा ३ चौका प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा ब्राउनलाई विराटनगरका सन्दीप लामिछानेले हिजलेटबाट क्याच गराएका थिए । त्यसपछि इशान पाण्डे र आरिफ शेखबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो । सन्दीपबाट नै १७औं ओभरको दोस्रो बलमा डि लाङबाट क्याच हुनुअघि पाण्डेले ३८ रन बनाए ।

उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । लगत्तैको बलमा सन्दीपले हर्मित सिंहलाई डु प्लेसिसबाट क्याच गराउँदै डकआउट गराए। कप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि ११ बलमा २ छक्काको मद्दतमा १९ रन जोडे। ऐरी प्रतिश जिसीको बलमा हिजलेटबाट क्याच भए ।

फाप डु पेल्सिसको आक्रामक अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका ओपनर फाफ डु पेल्सिसले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । योभन्दा अगाडि भीम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमा अर्धशतकीय पारी खेलेका थिए ।

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी एनपीएल सिजन–२ को आज (शनिबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ जोश ब्राउनले २४ दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जीसीले २ र बसिर अहमतले १ विकेट लिए ।

विराटनगरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा, दुवै टोलीमा खेलाडी परिवर्तन

काठमाडौं । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ । सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।विराटनगरले आजको खेलमा अघिल्लो टोलीबाट चार खेलाडी परिवर्तन गरेको छ भने सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ ।

सुदूरपश्चिमको टोलीः
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दीपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, ध्रुव परासर, पुनित मेहरा ।

विराटनगरको टोलीः
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे ।

‘प्लेअफ’ को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको २५औं खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’ मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ । हालसम्म ‘प्लेअफ’ मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ । त्यस बाहेक काठमाडौँ गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’ मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् । क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कस्ले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।

उक्त खेल विराटनगरले जितेमा ऊसँग काठमाडौँ गोर्खाजसँग बराबरी अर्थात् १० अङ्क हुनेछ । त्यसपछि रनरेटका आधारमा क्वालिफायर एकमा जाने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । अहिले काठमाडौँ गोर्खाजको रनरेट ०.५३७ छ भने विराटनगरको रनरेट ०.१८९ छ । विराटनगरलाई क्वालिफायर एकमा पुग्नका लागि जित मात्रै पर्याप्त हुने छैन । उसले ठूलो अन्तरमा सुदूरपश्चिमलाई पराजित गर्नुपर्नेछ । यदि विराटनगरले उक्त खेल जित्न नसकेमा काठमाडौँ गोर्खाज स्वतः क्वालिफायर एकमा जानेछ भने विराटनगर किंग्सले क्वालिफायर दुईका लागि ‘एलिमिनेटर’ खेल्नु पर्नेछ ।

क्वालिफायर एकमा तालिकाका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै क्वालिफायर दुईमा पुग्नका लागि अङ्कतालिकामा तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनेटर’ खेल्नेछन् । क्वालिफायर एकमा विजयी हुने टोली स्वतः फाइनलमा प्रवेश गर्ने छभने पराजित हुने टोलीले ‘एलिमिनेटर’ को विजेतासँग क्वालिफायर दुई खेल्नेछ । अब रह्यो कुरा प्लेअफमा पुग्ने चौथो टोलीको । यदि आज लुम्बिनी लायन्स विजयी भयो भने लुम्बिनी आठ अङ्कसहित स्वतः प्लेअफमा पुग्नेछ ।

यदि लुम्बिनी लायन्स पराजित भयो भने, प्लेअफका लागि जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको सम्भावना कायमै रहनेछ । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ । लुम्बिनीविरुद्धको आजको खेल जनकपुरले जितेको अवस्थामा उसले कर्णाली याक्सलाई आफ्नो अन्तिम खेलमा पराजित गर्नुपर्ने छ भने पोखरा र चितवनका लागि आफ्नो अन्तिम खेल नकआउट हुनेछ । जनकपुरले आज र आइतबारको खेलमा जित निकालेको अवस्थामा उसले पोखरा र चितवनबीच हुने खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

कांग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुने गरी आएको प्रतिक्रिया दिएका हुन् ।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनु पर्ने समेत बताए । उनले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गरे । नेता केसीले भने, ‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ । यो कार्यतालिका कहीं पनि प्रभावित भयो । १६ गते प्रभावित नहुन सक्छ । १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । यो चाँही हामीले महामन्त्रीलाई भेटेर फेरी पनि हामीले भन्नुपर्छ । त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो । विशेष महाधिवेशन हुनुपर्छ । त्यसका लागि हामी सबै तयार हुनुपर्छ ।’

कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाए । उनले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैले गल्ती गरेको समेत बताए । सभापति श्रेष्ठले भने, ‘हाम्रो विशेष अधिवेशनको तालिका छँदैछ । त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौ । तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरु आएपछि हामी आधिकारिक हौ भन्ने हुन्छ । हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ । त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिए–हामीले नियमित भन्न हुँदैन थियो ।’ सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताए ।

काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो । बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । काठमाण्डु गुर्खाजका ब्याट्सम्यान भीम सार्कीले १९ बलमै अर्धशतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।

सार्की एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो सिजनमा दीपेन्द्रसिंह ऐरीले २२ बलमा अर्धशतक बनाएका थिए । पोखराका धनन्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

एडमको शतकमा पोखराको जित, कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिएको छ । आज (मंगलबार) पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो ।

मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । ६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ । पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ । पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांक पञ्चाल १६, जयकिशान कोल्शावाला ६, पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा ९, कप्तान सोमपाल कामी १३, दीपेन्द्र रावत १०, विपिन शर्मा ० र युनिष सिंह ठकुरी एक रनमा आउट भए । नन्दन यादव ३ रनमा अविजित रहे ।

बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।

कर्णालीविरुद्ध पोखराले ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दै छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’ मा पुग्न महत्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो । कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। दिपक डुम्रे, युवराज खत्री र विलियम वसिस्टोलाई बेन्चमा राखेको छ । पोखराले आजको खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा रहेका दिनेश खरेल, अविशेक तिवारी, सुमित बर्मा, जिम्मी निसम र म्याट टेलरलाई बाहिर राखेको छ ।

पोखरा एभेन्जर्सको टोली : कुशल मल्ल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सन्दीप केसी, आडम रोसिङटन, जेसन रोय, ऋषी धवन र धनन्जय लक्सन।

कर्णाली याक्सको टोली : सोमपाल कामी, दीपेन्द्र रावत, पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युनिस ठकुरी, गुल्सन झा, मार्क वाट, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल र जय किसन कोल्सावाला ।

 

 

मालान–अर्जुनको शतकीय साझेदारीमा चितवनको जनकपुरलाई १७७ रनको चुनौति

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स समक्ष १७७ रनको बलियो लक्ष्य राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले २० ओभरमा चार विकेट गुमाउँदै १७६ रनको प्रतिष्पर्धी स्कोर निर्माण गर्‍यो ।

चितवनका लागि ओपनर डाविड मालान र अर्जुन साउदले उत्कृष्ट सुरुआत दिलाए । नियमित ओपनर दीपक बोहरालाई बेन्चमा राख्दै पहिलो पटक मालानसँग ओपनिङमा उतारिएका अर्जुनले आफ्नो अवसरको उत्कृष्ट सदुपयोग गरे । दुई जनाले पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी तयार गर्दै पारीलाई मजबुत आधार दिएको थियो । यो साझेदारी यस सिजन पहिलो विकेटका लागि दोस्रो तथा सबैभन्दा ठूलो साझेदारी समेत बन्यो ।

मालानले सटिक प्रहारसहित ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ८० रन जोडे । उनी १९औं ओभरमा माज सदाकतको एलबीडब्लुमा परे । अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए । उनको क्याच आदित्य महताले एक पटक झारे पनि सञ्जय कृष्णमूर्तिको बलमा अर्को डेलिभरीमै समातिए ।

तेस्रो नम्बरमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर फर्किए भने अनुभवी रबि बोपारा आज सस्तैमा—५ बलमा ३ रन—आउट भए । अन्तिमतिर कप्तान कुशल मल्लले पारी सम्हाल्दै धुवाँधार प्रहार गरे। १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाएका उनले अन्तिम ओभरमै १८ रन निकाल्दै स्कोर उकास्न मद्दत गरे । जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले एक–एक विकेट हात पारे । चितवनको बलियो सुरुआत र अन्तिम क्षणको आक्रामक ब्याटिङ पछि अब जनकपुरलाई जितका लागि १७७ रनको चुनौती सामना गर्नुपर्नेछ ।

जनकपुरविरुद्ध चितवनले ब्याटिङ गर्दै, दुवै टोलीमा दुई खेलाडी परिवर्तन

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’ को दौडमा कायम रहन चाहन्छ । पराजित भएमा जनकपुर बाहिरिनेछ ।

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुई-दुई खेलाडी परिवर्तन गरेका छन् । चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ । दिपक बोहोरा र रिजन ढकाललाई बेन्चमा राखेको छ । जनकपुरले अनिल शाह र सचिन भट्टलाई प्लेइङ ११ मा ल्याएको छ। ललित राजवंशी र किशोर महतोलाई बेन्चमा राखेको छ । जनकपुरका लागि सचिनले पहिलो खेल खेल्न लागेका हुन् ।

चितवन राइनोजः
कुशल मल्ल, देव खनाल, अर्जुन साउद, सौगात ढकाल, अमरसिंह राउटेला, रञ्जित कुमार, कमल सिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर ।

जनकपुर बोल्ट्सको टोलीः
आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन, सञ्जय कृष्णमूर्ति ।

आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । यही मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

 

कर्णालीलाई हराउँदै काठमाण्डू ‘प्लेअफ’ नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (आइतबार) कर्णालीलाई पाँच विकेटले हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको हो ।

एनपीएल सिजन–२ मा काठमान्डु गोर्खाजले चौंथो जित निकालेको हो । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्‍यो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । काठमाण्डुको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरे । जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए ।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो। कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए ।

मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए । योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार व्यहोरेको छ । ५ खेलमा कर्णालीले एक मात्र जित निकालेको छ ।

कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

चार खेल खेलेर एक खेल मात्रै जितेको कर्णाली याक्स दुई अंकका साथ छैटां स्थानमा छ । काठमाडौं गोर्खाज पााच खेल खेल्दा दुई खेल जितेर चार अंकसहित तेस्रो स्थानमा छ । दुवैलाई प्लेअपमा पुग्न जित्नै पर्ने दबाब छ । कर्णालीले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ भने काठमाडौंले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा आएका छन् ।

 

च्याम्पियन जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’ मा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो ।

योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ ।

लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ । जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ ।

पोखराविरूद्ध लुम्बिनीले जित्यो टस, दुबै टोलीमा यी खेलाडी परिवर्तन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ । दुई टोलीबीच बिहान साढे ११ बजे खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको हो ।

लुम्बिनीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ । लुम्बिनीका थोमस ड्राकाको स्थानमा निरोसन डिकोवेल्ला सुरुवाती ११ मा आएका छन् । पोखराको आकाश चन्द र डेनियल डाउथवेट आजको खेलमा बेन्चमा छन् । उनीहरूको स्थानमा अविशेष तिवारी र म्याट टेलर सुरुवाती ११ मा आएका छन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । लुम्बिनीले ४ खेल खेलिसक्दा पोखराले ३ खेल खेलेको छ । दुवैले एक–एक खेल मात्रै जितेका छन् ।

लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन् । यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।

पोखरा एभेन्जर्स कप्तानी कुशल भुर्तेलले गर्नेछन् । टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन् ।

बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई÷दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक÷एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो । कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक÷एक विकेट लिए ।

कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै, बिराटनगरको टोलीमा तीन खेलाडी परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट एक परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर अर्जुन घर्तीको ठाउँमा ब्याटर दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ । विराटनगरले भने ३ परिवर्तन गरेको छ ।

सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई राखिएको छ । विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

कर्णाली याक्सको टोली –सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

विराटनगर किंग्सको टोली –सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, सेहान जयसूर्य, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।

चितवन टस जितेर बलिङमा

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ ।

आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौँलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रने छन् ।

पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । आज (बिहीबार) भएको दोस्रो खेलमा पोखराले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनायो ।

जनकपुरका वेन पोर्नेलले ५० रन बनाएर रिटायर्ड आउट भए । यस्तै सञ्जय कृष्णिमूर्तिले २५ रन बनाए । पोखराका बिपिन खत्रीले ४ विकेट लिए। यस्तै सुमित बर्माले २ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । पोखराका सुमीत वर्माले नटआउट ५०, दिनेश खरेलले ३८ रन बनाए । जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए ।

एनपीएल तालिकामा पुछारमा रहेको पोखराले पहिलो पटक जित्दै २ अङ्क जोडेको छ । पोखरा एक स्थान उक्लिएको छ । लगातार तीन खेलमा हारेको जनकपुर अंकविहीन हुँदै तालिकाको पुछारमा झरेको छ । यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । एनपीएलमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्ने छन् । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जितको खोजीमा हुनेछ । लिग चरणमा पाचौँ खेल खेल्न लागेको काठमाडौँ तेस्रो जितको खोजीमा हुनेछ । चितवन र काठमाडौँको अंक तालिकामा समान चार अंक छ । प्लेअफ सम्भावना जिवित राख्न दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।
शुक्रबार दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्ने छन् । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ । प्लेअफ खेल्ने सम्भावना कायम राख्न कर्णालीलाई जित आवश्यक छ । कर्णाली पराजित भएमा प्लेअफ सम्भावना थप कमजोर हुनेछ ।

पोखराले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।

जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दै छन् । यी दुवै टोलीले यसअघि दुई-दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।

पोखरा एभेन्जर्सको टोली– कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, एडम रोसिङटन, डेनियल डाउथवेट र जिम्मी निसम ।

जनकपुर बोल्ट्सको टोली – अनिलकुमार शाह, आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति ।

एनपीएल २: रवि बोपाराले लगातार तेस्रो खेलमा बनाए अर्धशतक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी चितवन राइनोजका रवि बोपारा बनेका छन् ।

विराटनगर किङ्सविरुद्धको खेलमा बोपाराले व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले २९ बलमा २ चौका र ३ छक्कको सहयोगमा ५० रन बनाए ।

उनले चितवनको तीनै खेलमा अर्धशतक प्रहार गरेका हुन् । यो सिजनको ११ औं अर्धशतक हो ।

यसअघि बोपाराको नाममा सिजनको तेस्रो र आठौँ अर्धशतक छ । कर्णालीविरुद्धको जबाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जबाफी ब्याटिङमा उनले सिजनको तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । यो सिजनको आठौँ अर्धशतक हो ।

एनपीएल: २ विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुन लागेको एनपीएलको १२ औं खेलका लागि गरिएको टस विराटनगरले जितेर पहिला पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

यस खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले सम्पन्न तीन खेलमा शत प्रतिशत जित निकालेको छ । जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग यो टिमले जित निकालेको हो ।

चितवन भने दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । यो टिमले लुम्बिनी लायन्ससँग हारेको छ भने कर्णाली याक्ससँग जित निकालेको छ ।

आज अपराजित विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे खेल सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ । उता दुई खेलमध्ये एक जित्न सफल चितवन दुई अंकसहित चौंथो स्थानमा छ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन, दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेट र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

करणको आक्रामक ब्याटिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले आक्रामक ब्याटिङले लुम्बिनीले १५८ रनको लक्ष्य पाएको छ ।

१७ ओभरको चौथो बलमा ७ विकेटको क्षतिमा ११७ रनको अवस्थामा पुगेको थियो । त्यसपछि क्रिजमा गएका करण केसीले ११ बलमा ३४ प्रहार गर्न १ चौका र ४ छक्का प्रहार गरे ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।

एनपीएल: २ टस हारेर लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

लुम्बिनीलाई हराउँदै काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाडौंले यसअघिका तीन खेलमा एक मात्रै जित निकालेको छ । जनकपुर बोल्ट्सँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।

काठमाडौंलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकाल्ने दाउमा छ । लुम्बिनीले यसअघिको दुई खेलमा एक हार र एक जित निकालेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

दीपेन्द्र चम्किँदा सुदूरपश्चिम रोयल्सको ‘ह्याट्रिक’ जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । एनपीएलमा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो । यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ ।

सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो । जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । मार्क वटाले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन थपे ।

खेलको सुरुवातदेखि नै हाबी बनेका सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले आफ्नो स्पेलमा २३ रन खर्चे । अविनाश बोहोरा र हरमति सिहंले दुई–दुई विकेट झारे । स्कट कुग्लेजिन र हेमन्त धामीले एक–एक विकेट लिए ।

यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए ।

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए । हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए । विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे ।

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए । मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनायो ।

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।योसँगै जनकपुरको दोस्रो हार भएको छ । सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो ।

जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए । जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिए । आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।

 

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २–२ र आदित्य मेहताले एक विकेट लिए ।

विराटनगर किंग्सको लगातार दोस्रो जित, काठमाडौं गोर्खाजको दोस्रो हार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ।आज (शनिबार) जारी खेलमा काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै विराटनगर अंकतालिकामा मजबुत बन्दै गएको छ । काठमाडौँ भने लगातार दोस्रो हारको सामना गर्दै दबाबमा परेको छ ।

शनिवार त्रिवि क्रिकेट मैदानमा काठमाडौँले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमै पाँच विकेट गुमाउँदै हासिल गर्‍यो । प्रारम्भिक आक्रमक ब्याटिङ प्रदर्शनसँगै जित सहज बन्यो । विराटनगरका लागि जर्ज मुन्सी चम्किए । उनले १६ बलमा पाँच चौका र दुई छक्कासहित ३६ रन प्रहार गर्दै टिमलाई विजयी अवस्थामा पुर्‍याए । थप रुपमा मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अहमदले १९ तथा लोकेश बमले १४ रनसँग योगदान दिए ।

काठमाडौँका बलरमध्ये शहाब आलम सर्वाधिक सफल रहे । उनले दुई विकेट निकाले । करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट बटुले । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो भने काठमाडौँले पहिले सुदूरपश्चिम रोयल्ससँग पराजय भोगेको थियो । पहिलो खेल जितेको काठमाडौँका दुई अंक यथावत छन् । अब सोमबार दुई खेल हुँदैछन् । बिहान ११ः४५ बजे विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग भिड्नेछ भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

काठमाडौँले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य

काठमाडौँ । काठमाडौँ गोर्खाजले विराटनगर किंग्सविरुद्ध १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आज भएको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनायो। काठमाडौँका लागि मोहम्मद आदिल आलमले ४८ रन बनाए। उनले चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए।