`

मालान–अर्जुनको शतकीय साझेदारीमा चितवनको जनकपुरलाई १७७ रनको चुनौति

Nepal One HD १६ मंसिर २०८२ १३:३३
खेलकुद

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स समक्ष १७७ रनको बलियो लक्ष्य राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले २० ओभरमा चार विकेट गुमाउँदै १७६ रनको प्रतिष्पर्धी स्कोर निर्माण गर्‍यो ।

चितवनका लागि ओपनर डाविड मालान र अर्जुन साउदले उत्कृष्ट सुरुआत दिलाए । नियमित ओपनर दीपक बोहरालाई बेन्चमा राख्दै पहिलो पटक मालानसँग ओपनिङमा उतारिएका अर्जुनले आफ्नो अवसरको उत्कृष्ट सदुपयोग गरे । दुई जनाले पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी तयार गर्दै पारीलाई मजबुत आधार दिएको थियो । यो साझेदारी यस सिजन पहिलो विकेटका लागि दोस्रो तथा सबैभन्दा ठूलो साझेदारी समेत बन्यो ।

मालानले सटिक प्रहारसहित ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ८० रन जोडे । उनी १९औं ओभरमा माज सदाकतको एलबीडब्लुमा परे । अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए । उनको क्याच आदित्य महताले एक पटक झारे पनि सञ्जय कृष्णमूर्तिको बलमा अर्को डेलिभरीमै समातिए ।

तेस्रो नम्बरमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर फर्किए भने अनुभवी रबि बोपारा आज सस्तैमा—५ बलमा ३ रन—आउट भए । अन्तिमतिर कप्तान कुशल मल्लले पारी सम्हाल्दै धुवाँधार प्रहार गरे। १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाएका उनले अन्तिम ओभरमै १८ रन निकाल्दै स्कोर उकास्न मद्दत गरे । जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले एक–एक विकेट हात पारे । चितवनको बलियो सुरुआत र अन्तिम क्षणको आक्रामक ब्याटिङ पछि अब जनकपुरलाई जितका लागि १७७ रनको चुनौती सामना गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *