`

पाकिस्तानी टी-२० कप्तान साहिबजादा फरहान एनपीएल खेल्न काठमाडौंमा

Nepal One HD ८ कार्तिक २०८३ १२:२३
खेलकुद

काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। ३० वर्षीय फरहानले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्।

दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी-२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकको मद्दतमा १ हजार ५५४ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १३९.४९ छ।

समग्र टी-२० क्रिकेटमा फरहानले १८६ खेलमा नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाएका छन्। यस प्रारूपमा उनको उच्चतम स्कोर अविजित १६२ रन हो।

घरेलु क्रिकेटमा पनि प्रभावशाली प्रदर्शन गरेका फरहानले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन जोडेका छन्। त्यस्तै, लिस्ट ए क्रिकेटका ८१ खेलमा उनले ३ हजार १६५ रन बनाएका छन्।

१७ वर्षको उमेरमै टी-२० क्रिकेटमा पदार्पण गरेका फरहानले घरेलु प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका थिए। तर, राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन भने उनले लामो समय कुर्नुपर्‍यो।

सन् २०१८ मा २२ वर्षको उमेरमा हरारेमा आयोजित त्रिकोणात्मक शृङ्खलाअन्तर्गत अस्ट्रेलियाविरुद्ध खेल्दै उनले पाकिस्तानका लागि टी-२० अन्तर्राष्ट्रियमा पदार्पण गरेका थिए। तर, तीन खेलपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिए र सन् २०२४ सम्म पुनरागमन गर्न सकेनन्।

सन् २०२५ को पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्दै फरहानले उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताका १२ खेलमा ४४९ रन बनाएपछि उनी पाकिस्तानको टी-२० अन्तर्राष्ट्रिय टोलीमा फर्किन सफल भए।

त्यसपछि बंगलादेश र वेस्ट इन्डिजविरुद्धका शृङ्खलामा पनि उनले प्रभावशाली ब्याटिङ गरे। छ इनिङ्समा तीन अर्धशतक प्रहार गर्दै उनले पाकिस्तानको टी-२० टोलीमा आफ्नो स्थान थप बलियो बनाए।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। कर्णाली याक्सले फरहानको अनुभव र ब्याटिङ क्षमताबाट प्रतियोगितामा राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *