`

ओलेस्कीमा अक्टोबर २७ देखि युद्धविराम, अर्को महिना शान्ति वार्ता हुने

Nepal One HD ८ कार्तिक २०८३ ११:५९
विश्व
काठमाडौं । रुस र युक्रेन रुसको नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा अक्टोबर २७ देखि युद्धविराम लागू गर्न सहमत भएका छन्। युद्धविरामसँगै दुवै पक्षले आगामी महिना शान्ति वार्ताको नयाँ चरणमा सहभागी हुने तयारी गरेका छन्।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको सहमतिले युद्धबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि युद्धको चपेटामा परेको सहरमा युद्धविराम लागू भएमा सर्वसाधारणलाई राहत पुग्ने विश्वास गरिएको छ।

ह्वाइट हाउसका अनुसार युद्ध सुरु हुनुअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७ सयदेखि २ हजार जनामात्रै बाँकी छन्। युद्धका कारण सहरको जनजीवन प्रभावित हुनुका साथै ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन्।

त्यस्तै, अमेरिकी अधिकारीहरूका अनुसार रुस, युक्रेन र अमेरिकाबीच हुने आगामी त्रिपक्षीय शान्ति वार्ता संयुक्त अरब इमिरेट्सको आबु धाबी वा स्विट्जरल्याण्डमा हुन सक्नेछ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आगामी महिना शान्ति वार्ताको नयाँ चरण आयोजना हुने पुष्टि गरेका छन्।

युद्धविराम र प्रस्तावित वार्ताले रुस-युक्रेन युद्ध अन्त्य गर्ने दिशामा प्रगति हुने अपेक्षा बढाए पनि स्थायी शान्तिका लागि वार्तामा कस्तो सहमति बन्छ भन्ने विषय अझै अनिश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *