दीपेन्द्र चम्किँदा सुदूरपश्चिम रोयल्सको ‘ह्याट्रिक’ जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ‘ह्याट्रिक’ जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गरेको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । एनपीएलमा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो । यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ ।
सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो । जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । मार्क वटाले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन थपे ।
खेलको सुरुवातदेखि नै हाबी बनेका सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले आफ्नो स्पेलमा २३ रन खर्चे । अविनाश बोहोरा र हरमति सिहंले दुई–दुई विकेट झारे । स्कट कुग्लेजिन र हेमन्त धामीले एक–एक विकेट लिए ।
यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए ।
त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए । हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे । स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए । विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे ।
कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए । मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ ।
