एनपीएल–२ : कसले के–के जिते पुरस्कार ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले उपाधिसँगै व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीका खेलाडीहरू प्रतियोगिताका मुख्य आकर्षण बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए । उपाधि यात्रामा निर्णायक भूमिका खेलेका ट्रम्पलमनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै उपयोगी ६५ रन समेत बनाए । उनले सर्वोत्कृष्ट खेलाडी बने बापत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ट्रम्पलमन नै प्लेयर अफ द म्याच घोषित भए ।

लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताका सबैभन्दा सफल खेलाडीमध्ये एक बने । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिएर टोलीको नेतृत्व गरे । यस प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर घोषित भए भने प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि पनि उनकै नाममा रह्यो । रोहितले ओमोडा कार प्राप्त गरे भने उत्कृष्ट ब्याटरको रूपमा पल्सर बाइक समेत हात पारे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिए र यस उपलब्धिका लागि पल्सर बाइक प्राप्त गरे। उदीयमान खेलाडीको उपाधि भने लुम्बिनीका शेर मल्लले जिते । उनले पनि १७ विकेट लिँदै भविष्यका सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गरे र पल्सर बाइक पुरस्कार पाए ।

सुदूरपश्चिमका अविनाश बोहरा रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । १७ विकेटसहित उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । यस्तै लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । समग्रमा एनपीएल सिजन–२ लुम्बिनी लायन्सका लागि ऐतिहासिक रह्यो । उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडी र अन्य महत्वपूर्ण पुरस्कारहरू जित्दै लुम्बिनीले नेपाली फ्रेन्चाइज क्रिकेटमा आफ्नो बलियो पहिचान बनाएको छ ।
