`

मार्क वाटको शतकमा कर्णालीको शानदार जित, लुम्बिनी पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कर्णालीको जीतमा वाटले शतक प्रहार गरे । उनी एनपिएलको जारी संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

वाटले ४४ बल खेल्ने क्रममा १२ छक्का र छ चौकाको सहयोगमा ११४ रन बनाए । २९ बलमा अर्धतक पूरा गरेका उनले थप ४१ बलमा शतक पूरा गरेका थिए ।

कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका लागि एक मात्रै विकेट शेर मल्लले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिएका थिए ।

आजको दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच हुँदैछ ।

लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाए। उनले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रुबेन ट्रम्पलमेनले २९, जोनाथन स्मिथले २३ र डिआर्सी सोर्टले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।

एनपीएल : लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।  लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुँदा कर्णाली पहिलो जित निकाल्न चाहन्छ।

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा जितविहीन

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेपनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७ रनको योगदान दिए ।

ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए । आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ब्राउनले विनोद भण्डारीसंग पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । विनोद ४३ रनमा आउट भए । क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रनमा आउट भए । बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई÷दुई विकेट लिए ।

योसँगै सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।

त्रिवि क्रिकेट रंगशालामा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् ।

आज खेल हेर्न जाने दर्शकहरूको उपस्थिति निकै बाक्लो देखिएको छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

सुदूरपश्चिमका जोस ब्राउनको अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका जोस ब्राउनले अर्धशतक प्रहार गरेका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार जोसले २९ बलमा अर्धशतक बनाएका हुन् । उनले पाँच चौका र तीन छक्का प्रहार गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ । सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन् ।

 

 

 

सुदूरपश्चिमविरुद्ध पोखरा–टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौ गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । पोखरा भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।

पोखरा आजको खेलमा पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पोखराले अघिल्लो खेलेको टोलीबाट आज दुई खेलाडी परिवर्तन गरेको छ । तीर्थराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मा सुरुवाति ११ मा आएका छन् । सुदूरपश्चिमले भने विराटनगरविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

पोखरा एभेन्जर्सको टोली – कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविषेक तिवारी, आकाश चन्द, विपिन खत्री, सुमित वर्मा, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम ।

सुदूरपश्चिम रोयल्सको टोली– दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह ।

 

 

 

 

एनपीएल : लुम्बिनीको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।

 

बोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्स सामू १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो ।

चितवनको सुरुआत भने सुखद रहेन । कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । १५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए ।

यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई/दुई विकेट लिए ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरुआतको खोजीमा छ । चितवन भने लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ ।

चितवनले १६ रनमै गुमायो दुई विकेट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्धको खेलमा चितवन राइनोज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुगेको हो । चितवनका प्रारम्भिक ब्याटर डेभिड मलान शून्यमा आउट भए ।

उनलाई लुम्बिनीका रुबेन ट्रम्पलमेनले बोल्ड गरेका थिए । चौथो ओभरमा दीपक बोहरा १० रनमा आउट भएका छन् । उनलाई अभिनाष गौतमले आउट गरे । अहिले देव खनाल र रवि बोपारा क्रिजमा छन् ।

 

 

चितवनविरुद्ध लुम्बिनीले पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

अघिल्लो खेलको टोलीमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा अमरसिंह राउटेला सुरुवाति ११ मा परेका छन् । ट्यालेन्ट हन्टबाट आएका लुम्बिनीका समिर अलीले एनपीएलमा डेब्यु गर्दै छन्। लुम्बिनीको यो पहिलो खेल हो ।
लुम्बिनी लायन्स–रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नैब, रुबेन ट्रम्पल म्यान, जोनाथन स्मिथ, समिर अली ।
चितवन राइनोज– कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, दिपक बोहरा, कमलसिंह ऐरि, डेबिड मलान, रबि बोपारा, सैफ जैब, सोहेल तनवीर ।

हरमितको उत्कृष्ट प्रदर्शनमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं । हरमित सिंहको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरीह सावित भए ।

सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाण्डूले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।

यता, सुदूरपश्चिमको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

विराटनगरले बनायो एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिले ब्याटिङ गरेको विराटनगरले चार विकेटको क्षतिमा २२० रन बनाएको हो। यो एनपीएलकै सबैभन्दा उच्च स्कोर हो।

विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे ।

बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

 

 

कर्णालीलाई चितवनले हरायो, रबि बोपाराको अर्धशतक

काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई हराएको छ । चितवनले कर्णालीलाई चार विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे ।

सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक÷एक विकेट लिए । चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

चितवनलाई कर्णालीले दियो १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको हो । कर्णालीका प्रियाङ्क पन्चालले ९० रन बनाए ।

पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए । ओपनर म्याक्स ओ डाउड ६ बलमा २ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए । पवर सरार्फ २७ र नजिबुल्लाह जड्रान ४ रनमा अविजित रहे । पवनले १६ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

 

९० रन बनाएर कर्णालीका प्रियाङ्क ‘आउट’

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चल ९० रन बनाउँदै ‘क्याच आउट’ भएका छन् । उनले ४८ बलमा ९० रन बनाए । उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए ।

उनले २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले ब्याटिङमा आएको हो । कर्णालीले १६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ ।

चितवनविरुद्ध कर्णालीका प्रियाङ्कको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चलले अर्धशतक पूरा गरेका छन् । उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ । क्रिजमा प्रियाङ्क पञ्चल ६० र मार्क वाट १ रनमा अविजित छन् । अर्का ओपनर म्याक्स ओ डाउड २० रन बनाउँदा सैफ जैवको कलबमा बोल्ड आउट भएका छन्।

काठमाडौं गोर्खाजको शानदार सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससँगको खेलमा काठमाडौँ गोर्खाजले शानदार सुरुवात गरेको छ ।जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात ओभरमा ६४ रन बनाएको छ । काठमाडौँका लागि वेन चाल्र्सवर्थले ४५ र आकाश त्रिपाठी २१ रनमा अविजित छन् ।

यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले ५४, मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी–इटोन र सञ्जय कृषिमूर्तिले दुई–दुई विकेट लिए । काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक–एक विकेट लिए ।

 

जनकपुरले काठमाडौं गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो ।

जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

मिलिन्द कुमारले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले एकै ओभरमा दुई विकेट हात पारेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर विरुद्धको खेलमा काठमाडौंका मिलिन्दले लहिरु मिलन्था र अनिल याददको विकेट लिएका हुन् । मिलन्था १२ बलमा सात रन बनाएर आउट भए भने कप्तान अनिल शून्यमा बाहिरिए । काठमाडौं गोर्खाजले पाँच ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ ।

एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११

काठमाडौं । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो। यसपटक पनि जनकपुरले काठमाडौंलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौं पनि अघिल्लो संस्करणको हारको बदला लिंदै जित हासिल गर्न चाहन्छ ।

यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिंदैछ । दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाम हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ ।

यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन  त्यसैगरी काठमाडौंले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । आसन्न एनपिएलमा काठमाडौं विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।

त्यसपछि काठमाडौंले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो । अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्वय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् । काठमाडौंले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ । यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याइएको थियो ।

दोस्रो संस्करणको जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इमरान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य मेहता, विकास अग्री, सचिन भट्ट, लाहिरु मिलान्था, वायने पार्नेल र सञ्जय कृष्णमुर्ती छन् । त्यस्तै काठमाडौं गोर्खाजमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन् ।

एनपीएलमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । जस्का लागि २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछन्। यो भिडन्त आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ।

मंसिर २७ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलको टिकट बिक्री भैसकेको हुनाले टिकट नभएकाहरूलाई मैदानमा नजान प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भनेको छ,“आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित (टीयू) खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,” जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार अपराह्न ४ बजेबाट उद्घाटन खेलमा सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । प्रतियोगिता मङ्सिर २७ सम्म चल्नेछ ।

एनपीएल दोस्रो संस्करण आजबाट : जनकपुर–काठमाडौं भिड्दै

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटको बढ्दो क्रेजबीच नेपाल प्रिमियर लिग (एनपीएल) आज (सोमबार) देखि काठमाडौंमा भव्य रूपमा दोस्रो सिजन सुरु हुँदैछ । पहिलो सिजनमै विश्वका शीर्ष पाँच मूल्यवान लिगमध्ये स्थान बनाएर सबैलाई चकित पारेको एनपीएल यस पटक कृत्रिम प्रकाश (फ्लडलाइट), आकर्षक रङ्गशाला र विश्वस्तरीय स्टार खेलाडीहरूका कारण झनै चम्किएको छ ।

क्यानका सचिव एवं संयोजक पारस खड्काले पहिलो संस्करणको सफलता अझ उचाइमा पुर्‍याउने लक्ष्य घोषणा गर्दै सबै पक्षको सहयोगले यो सिजन ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । मंसिर २७ मा उपाधि भिडन्तसँगै समापन हुने लिगमा सिंगल–राउन्ड रोबिनदेखि इलिमिनेटर र क्वालिफायरसम्म गरी ३२ खेल समावेश छन् ।

आठ फ्रेन्चाइज टिमले यसपटक पनि विश्वका चर्चित क्रिकेटर भित्र्याएका छन् । फाफ डुप्लेसिस, जेसन रोय, क्रिस लिन, इमरान ताहिर, वायन पार्नेलसहित करिब ४० सुपरस्टार खेलाडीले एनपीएललाई ग्लोबल शो–स्टप बनाएका छन्। पाँच टिममा विदेशी प्रशिक्षकको उपस्थितिले प्रतिष्पर्धा झन् रोचक बनेको छ ।

च्याम्पियन जनकपुर बोल्ट्स–शिवनारायण चन्दरपल
विराटनगर किङ्स–पुबुदु दसनायके
काठमाडौँ गोर्खाज–मोन्टी देसाई
पोखरा एभेन्जर्स–राजीव कुमार
लुम्बिनी लायन्स–टिनु योहान्ना
खड्काका अनुसार विश्वस्तरीय हस्तीसितको सहकार्यले नेपाली खेलाडीहरूलाई खेलभित्र–बाहिर दुवै क्षेत्रमा महत्वपूर्ण अनुभव दिलाउनेछ ।
एनपीएल नेपाली खेल क्षेत्रकै सबैभन्दा ठूलो बजेटको लिग हो । गत वर्ष एक अर्बभन्दा बढी कारोबार गरेको लिगको ब्रान्ड भ्यालु यस पटक दुई अर्ब नाघ्ने क्यानको लक्ष्य छ ।

मार्की खेलाडी–२० लाख
अन्य घरेलु खेलाडी– २–१५ लाख
आइकोनिक खेलाडी–आकर्षक रकम
त्यसैगरी फ्रेन्चाइजहरूले प्रचारमा पनि ठूलै लगानी गरेका छन् ।
फ्लडलाइट–तयार रङ्गशाला, नेपालमा पहिलो रात्रीकालीन लिग

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरकारले क्यानसँग मिलेर गरेको स्तरोन्नतिपछि नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेलिँदैछ । ९ खेल दिउँसो र २३ खेल रातमा हुनेछन् । नौ हजार पाँच सय टिकट बिक्री हुने बताए पनि दर्शक क्षमता १३ हजार छ, जसले वातावरण झन् विद्युतीय बनाउने अपेक्षा छ ।

आज साँझ ४ बजे हुने उद्घाटन खेल गत वर्षका च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । गत सिजनमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको अवस्थामा दुवै टिम आज नयाँ अध्याय लेख्न मैदान उत्रिँदैछन्ए-क पक्ष उपाधि रक्षा अभियानमा, अर्को पक्ष बदला अभियानमा ।

भोलिदेखि सुरु हुँदै एनपीएल, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भोलि (मंसिर १०) देखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुने जनाइएको छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले टिकट नपाएका दर्शकलाई रंगशालामा भीड नगर्न तथा घरमै बसेर खेल हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले टिकट नभएको अवस्थामा रङ्गशालामा जाँदा सुरक्षामा समस्या र हुलदंगा हुन सक्ने भएकाले अनुशासित रहन आग्रह गरेका छन् ।

उनले घरमै बसेर एनपीएललाई समर्थन गर्न दर्शकलाई अपिल गर्दै, प्रतियोगिताले विश्वको ध्यान नेपाली क्रिकेटमा तानिरहेको अवस्थामा सबैले जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्ने बताएका छन् । क्यानका अनुसार उद्घाटन खेलका लागि करिब ८ हजार टिकट सर्वसाधारणलाई बिक्री गरिएको छ । त्यस्तै, करिब २ हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकका लागि छुट्याइएको छ भने करिब ३ हजार सिट पदाधिकारी, खेल अधिकारी र विशेष पाहुनाका लागि राखिएको छ ।

उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले जनाएका छन् । त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न उनले आग्रह गरेका छन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित विदेशी तथा स्वदेशी खेलाडी विभिन्न टिमबाट खेल्दै छन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीले एनपीएलको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

एनपीएल खेल अवधिभर कुनै आन्दोलनका कार्यक्रम नगरी दिन क्यानको आग्रह

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काले पहिलाको सिजन भन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने दावी गरे । एनपीएललाई सफलतापूर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ । सचिव खड्काले भने, ‘हामी सबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ । यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ । नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ ।’

उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए । ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ,’ खड्काले भने, ‘हामीले पाँच वटा गेट खुला गर्नेछौं । टिकट भएका दर्शक मात्र मैदानसम्म आइदिनु होला, टिकट नहुनेहरु घरमा नै बसेर टेलिभिजन वा ओटीटी प्लेफर्मबाट हेरिदिनु होला ।’

उनले करिब एक महिना चल्ने एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन र काठमाडौँ बाहिर गरिदिन समेत आग्रह गरे । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको तयारी पूरा भएको बताए । पहिलो संस्करणको तुलनामा दोस्रो सिजनलाई अझ राम्रो बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

एनपीएल विजेताको पुरस्कार राशि परिवर्तन नहुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि पहिलाको जति नै कायम गरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव पारस खड्काले एनपीएल पुरस्कार राशि नबढ्ने जानकारी दिएका हुन्।

गत वर्ष एनपीएलको पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो।

यस्तै तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए। खेलाडीलाई व्यक्तिगत रूपमा दिने पुरस्कार राशि भने पछि जानकारी गराइने क्यान सचिव खड्काले बताए।

त्रिवि क्रिकेट मैदानको काम धमाधम: एनपीएलका २३ खेल फ्लडलाइटमा हुने

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको काम धमाधम हुँदैछ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन् अब हुने एनपीएलको दोस्रो संस्करण खेल यहि मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यसपालीको खेल तालिका पनि सार्वजनिक भएको छ भने तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ।

तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र प्लेअफका ३ तथा फाइनल खेल फ्लडलाइटमा हुनेछन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

तस्बिरमा हेर्नूहोस् कर्णाली याक्सको एनपिएल ट्रफी यात्रा

काठमाडौँ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ ।

कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो । दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो । सो क्रममा हजारौं विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए ।

बिहीबार प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पु¥याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरुको पनि उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरु विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

हरेक खेल जित्दा क्रिकेट संघलाई १ लाख

कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।