भोलिदेखि सुरु हुँदै एनपीएल, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भोलि (मंसिर १०) देखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दै छन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुने जनाइएको छ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले टिकट नपाएका दर्शकलाई रंगशालामा भीड नगर्न तथा घरमै बसेर खेल हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले टिकट नभएको अवस्थामा रङ्गशालामा जाँदा सुरक्षामा समस्या र हुलदंगा हुन सक्ने भएकाले अनुशासित रहन आग्रह गरेका छन् ।
उनले घरमै बसेर एनपीएललाई समर्थन गर्न दर्शकलाई अपिल गर्दै, प्रतियोगिताले विश्वको ध्यान नेपाली क्रिकेटमा तानिरहेको अवस्थामा सबैले जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्ने बताएका छन् । क्यानका अनुसार उद्घाटन खेलका लागि करिब ८ हजार टिकट सर्वसाधारणलाई बिक्री गरिएको छ । त्यस्तै, करिब २ हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकका लागि छुट्याइएको छ भने करिब ३ हजार सिट पदाधिकारी, खेल अधिकारी र विशेष पाहुनाका लागि राखिएको छ ।
उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले जनाएका छन् । त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न उनले आग्रह गरेका छन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित विदेशी तथा स्वदेशी खेलाडी विभिन्न टिमबाट खेल्दै छन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीले एनपीएलको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
