`

रोहित पौडेलले लिए ह्याट्रिक विकेट

Nepal One HD २७ मंसिर २०८२ १६:४८
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ऐतिहासिक प्रदर्शन गर्दै खेलको धार नै मोडिदिएका छन् । निर्णायक फाइनलमा सुदूरपश्चिम रोयल्स लगातार विकेट गुमाउँदै गहिरो दबाबमा परेको छ । ११ औं ओभरसम्म आइपुग्दा सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको छ । यही ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसहित दीपक बोहरा र पुनित मेहरालाई शून्यमा आउट गर्दै दर्शकलाई रोमाञ्चित बनाएका हुन्।

ह्याट्रिक विकेटमध्ये सबैभन्दा महत्वपूर्ण विकेट कप्तान ऐरीको थियो । ऐरीले १ छक्का प्रहार गर्दै २० बलमा १३ रन बनाएका थिए र पारी सम्हाल्ने प्रयास गरिरहेका थिए । तर रोहितको सटीक बलिङ अगाडि उनी टिक्न सकेनन्। दीपक बोहरा र पुनित मेहराले भने खाता नै खोल्न नपाई पवेलियन फर्किनुपर्‍यो ।

रोहित पौडेलले आफ्नो ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चिँदै तीन महत्वपूर्ण विकेट लिएका छन् । उनको कसीलो बलिङले सुदूरपश्चिमको ब्याटिङ लाइनअप पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । यसअघि नै सुदूरपश्चिमले विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाइसकेको थियो । लगातार विकेट पतनका कारण टोली दबाबमा परेको स्पष्ट देखिएको छ । रोहित बाहेक लुम्बिनी लायन्सका बलरहरू पनि प्रभावशाली देखिएका छन् । रुबेन ट्रम्पलम्यानले दुई विकेट लिँदा शेर मल्लले एक विकेट आफ्नो नाममा लेखाएका छन् । फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूको आक्रामक प्रदर्शनले उपाधि दौड झनै रोचक बनेको छ । अब सुदूरपश्चिम रोयल्सका लागि बाँकी खेलाडीले कसरी सम्हाल्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *