कांग्रेसमा क–कसले ताक्दैछन् सभापति ?
काठमाडौं । नेपाली कांग्रेसमा आगामी महाधिवेशन नजिकिँदै जाँदा सभापति पदको प्रतिष्पर्धा तीव्र बन्दै गएको छ । दुई कार्यकालपछि पुनः सभापति बन्न नपाइने संवैधानिक प्रावधानका कारण वर्तमान सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्न नपाउने भएपछि पार्टी नेतृत्व नयाँ व्यक्तिको हातमा जाने निश्चित जस्तै बनेको छ । यही स्थितिले कांग्रेसभित्रका विभिन्न तहका नेतामध्ये ११ जना सभापतिको आकांक्षी खुल्दै सार्वजनिक रूपमा सक्रिय भएका छन् ।
कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा गरेसँगै नेतृत्वको आकांक्षीहरू विस्तारै खुल्न थालेका हुन् । पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै आकांक्षीहरूले दाबी गर्न थालेका हुन् । यद्यपि, निर्धारित समयमा महाधिवेशन हुनेमा कांग्रेसका नेताहरू नै ढुक्क हुन सकेको छैनन् । महाधिवेशनको सबैभन्दा महत्वपूर्ण हिस्सा क्रियाशील सदस्यताको विषय अझै टुङ्गिएको छैन । महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने गृहकार्य अगाडि बढाइसकेका छन् ।
अब हुने महाधिवेशनबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन् । अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् । देउवालाई नेतृत्वमा दोहोरिने विधानले पनि दिँदैन । देउवा नेतृत्वमा नआउने भएपछि आगामी महाधिवेशनमा उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउमा उनी निकट नेताहरूको हानथाप छ । देउवाले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
अहिले कार्यवाहक भूमिकामा रहेका खड्काको आगामी नेतृत्वमा दाबी स्वाभाविक हो। तर, महाधिवेशनको मिति विवाद सल्टाउन समेत देउवाकै मुख ताकेको भन्दै उनको कार्यक्षमतामाथि नेताहरूले प्रश्न उठाएका छन् । असोज २८ गतेबाट सुरु भएको बैठकले महाधिवेशनको मिति विवाद समाधान गर्न नसकेपछि देउवा आफै सक्रिय भएर पार्टीभित्रको विवाद समाधान गरेका थिए । देउवाको उत्तराधिकारी बन्न सात पूर्व पदाधिकारीहरू पनि निरन्तर छलफलमै छन् ।
यता सभापति पदका लागि सर्वप्रथम उम्मेदवारी घोषणा गर्ने नेता बनेका छन्–डा. शेखर कोइराला । उनी १४ औं महाधिवेशनमा देउवासँग दोस्रो चरणसम्म प्रतिष्पर्धा गरेका थिए । कोइरालाले आफू संस्थापन–इतरको साझा उम्मेदवार बन्ने कि स्वतन्त्र टिम बनाएरै चुनावी मैदानमा उत्रने संकेत गरिसकेका छन् । यस्तै, १४ औँ महाधिवेशनमा २२ मत पाएका कल्याण गुरुङले यस पटक प्यानलसहित सभापतिमा प्रतिष्पर्धा गर्ने तयारी गरेको घोषणा गरिसकेका छन् । संस्थापन निकट सात पूर्व पदाधिकारी–विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत—आफूमध्ये एक जनालाई साझा उम्मेदवार बनाउने उद्देश्यले निरन्तर छलफलमा छन् ।
तर आकांक्षा धेरै, सहमति न्यून हुने परिस्थितिमा उनीहरूले अहिलेसम्म कुनै एक नाम तय गर्न सकेका छैनन् । निधि, सिंह, सिटौला र डा. शशांकले खुलेर दाबी गरिरहेका छन् भने गच्छदार र महतले चाहना बोके पनि सार्वजनिक रूपमा केही घोषणा गरेका छैनन् । गोपालमान श्रेष्ठले देउवा नउठे मात्रै आफू सभापति पदका दाबेदार हुने बताएका छन् । पछिल्लो समय कोइराला परिवार चुनावमा एक हुने देखिएको छ । यसकै संकेत गर्दै केहि समयअघि डा. शंशाक कोइरालाले आफू सभापतिको दावेदार भए पनि दाजु शेखरसँग सल्लाह भइरहेको र दुईमध्ये एक जना उम्मेद्वार हुनसक्ने बताएका छन् ।
गगन थापाले युवापुस्ताले नै नेतृत्व लिनुपर्ने भन्दै खुला रुपमा सभापतिमा उठ्ने पटक–पटक सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । उनले सभापतिमा दावी गर्दै युवा नेताहरूबीच समन्वय गरिरहेका छन् । तर पार्टीभित्र धेरैले उनलाई आगामी महामन्त्री उम्मेदवारका रूपमा पनि हेर्दै आएका छन्। यसैबीच नेता डा. चन्द्र भण्डारीले समेत आज (बुधबार) मात्र आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार भएको घोषणा गरेका छन् । अहिलेसम्मको अवस्थामा कम्तीमा ११ जना नेताले सभापति पदमा दाबी राखिरहेका छन् । एउटै समूहबाट धेरै आकांक्षी देखिँदा अन्तिम क्षणमा सहमति जुटाउन कठिन हुन सक्ने आंकलन पनि गरिएको छ ।
