कांग्रेस सभापतिमा पूर्ण, शेखर र गगनबीच प्रतिष्पर्धाको संकेत, देउवाकाे साथ कसलाई ?
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा सभापतिका लागि त्रिकोणीय प्रतिष्पर्धा हुने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने सम्भावना रहेको बताउँदै पहिलो चरणमै नतिजा नआउने दाबी गरेका छन् ।
महाराजगञ्जस्थित निवासमा नेताहरू तथा शुभेच्छुकहरूसँगको अनौपचारिक भेटघाटमा देउवाले महाधिवेशन जुनसुकै समयमा भए पनि दोस्रो चरणमा मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको बताएका हुन् । ‘शेखर पनि लड्नु हुन्छ, पूर्णबहादुर त कार्यवाहक नै भएकाले लड्नु हुन्छ, गगन त लडिहाल्नु हुन्छ’, भन्दै देउवाले पहिलो चरणमै परिणाम आउने सम्भावना न्यून रहेको धारणा राखेका थिए ।
यद्यपि, पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले आफ्नो समर्थन स्पष्ट रूपमा पूर्णबहादुर खड्कालाई रहने बताएका छन् । उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्कालाई नै सहयोग गरेर अघि बढ्ने उनको भनाइ छ । ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि यही कुरा भनेको छु’, देउवाले स्पष्ट पारे । आफू भने अब सभापतिको उम्मेदवार नहुने देउवाले दोहोर्याएका छन् । विधानअनुसार तीन पटकभन्दा बढी सभापति हुन नमिल्ने उल्लेख गर्दै उनले भावी नेतृत्वलाई आवश्यक परे सल्लाह दिने तर प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका छन् । ‘म गिरिजाबाबुसँग पनि लडेको हुँ, शेखर–गगन पनि मसँग लडेका हुन्’, भन्दै उनले पार्टीभित्र प्रतिष्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिने बताएका छन् ।
डा. शेखर कोइराला र गगन थापा सभापतिको दाबेदार हुने चर्चा चलिरहे पनि औपचारिक रूपमा सहयोग मागेर आफू कहाँ नआएको देउवाले बताएका छन् । गगन थापा भने भेटघाटका क्रममा आए पनि आफूले खड्कालाई सहयोग गर्ने कुरा स्पष्ट रूपमा सुनाएको देउवाको भनाइ छ । विशेष महाधिवेशनको बहसबारे देउवाले नकारात्मक धारणा राखेका छन् । निर्वाचनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै त्यसले पार्टीभित्र थप तिक्तता बढाउने उनको तर्क छ । ‘महाधिवेशनमा हार्नेको रिस चुनावमा असर गर्छ’, भन्दै उनले निर्वाचनअघि नेतृत्व परिवर्तनको बहस अव्यावहारिक भएको बताए । समग्रमा, कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा सभापतिका लागि बहुपक्षीय प्रतिष्पर्धा देखिए पनि देउवाको राजनीतिक वजन भने पूर्णबहादुर खड्कातर्फ केन्द्रित हुँदै गएको स्पष्ट संकेत देखिन्छ ।
