दुई दशकदेखि भारतमा व्यापार गरिरहेका व्यक्ति कांग्रेसको समानुपातिक उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति डा. सरोज कुमारले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र पठाएर समानुपातिक उम्मेदवार छनोटमा ध्यानाकर्षण गराएका छन् । उनले बुधबार पठाएको ध्यानाकर्षण पत्रमा पार्टी संगठनमा नभएका व्यक्ति मो. अन्सार खाँलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खाँलाई मुस्लिम क्लस्टरमा राखिएको छ ।
पत्रमा भनिएको छ, ‘सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएका मो. अन्सार खाँ कहि कुनै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो ।’ उनी भारतमा बसेर व्यापार गर्दै आएको पत्रमा स्मरण गराइएको छ । ‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेका व्यक्ति कसरी कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ?’ प्रश्न गरिएको छ ।
यसलाई सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘पार्टी संगठनमा दिनरात काम गर्ने, पार्टी भनेर जीवन नै समर्पण गर्ने आदरणीय साथीहरूको मनोभावना कुल्ची, अन्याय गरि एक्कासी पहुँच, पैसा, पावरको भरमा आउने यी र यस्ता नामहरूको घोर निन्दा तथा भत्र्सना गर्दै नामावली यथाशिघ्र सच्याउन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछौँ ।’
