`

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

Nepal One HD ९ पुष २०८२ १७:५६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भई बयान दिनुपर्ने विषयमा व्यापक छलफल भएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धानका क्रममा लेखकलाई बयानका लागि बोलाएपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकमा यो विषय उठाइएको हो ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरूले लेखकले आयोगमा उपस्थित भएर बयान दिनु नै उपयुक्त हुने धारणा राखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा आयोगले बयानका लागि बोलाएको विषयमा गम्भीर छलफल भएको थियो। ‘उहाँलाई बयानमा बोलाइएको विषयमा छलफल भयो । अधिकांश नेताहरूले बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिनुभएको छ’, उनले पत्रकारहरूलाई बताए ।

केन्द्रीय समिति बैठकमा पनि यही विषय दोहोरिएको थियो । आयोगले औपचारिक रूपमा पत्र पठाएर लेखकलाई बयानका लागि बोलाइसकेको सन्दर्भमा पार्टीभित्र पारदर्शिता र संस्थागत जिम्मेवारी देखिनुपर्ने मत धेरै नेताहरूले व्यक्त गरेका थिए । नेताहरूले आयोगसँग सहकार्य गर्नुले पार्टी र नेताको विश्वसनीयता बढ्ने धारणा राखेका छन् । यद्यपि, कांग्रेसभित्रै केही फरक मत पनि देखिएको छ ।

स्रोतका अनुसार लेखक बयान दिन तयार रहेको मनस्थितिमा भए पनि पार्टी सभापति शेरबहादुर देउवाबाट नजान दबाब परेको दाबी केही नेताहरूले गरेका छन् । यसबारे पार्टीले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक नगरे पनि आन्तरिक छलफलले लेखकलाई बयानमा जान सकारात्मक सन्देश दिएको देखिन्छ । आयोगले भदौ २३ र २४ गते भएका घटनाको तथ्य र जिम्मेवारी पहिचान गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूसँग बयान लिँदै आएको छ । यस्तो अवस्थामा तत्कालीन गृहमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेसभित्र बहुमत नेताहरूले कानून र प्रक्रियाप्रति सम्मान देखाउँदै आयोगसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *