कांग्रेसमा चर्कियो ‘शक्ति संघर्ष’ : विशेष महाधिवेशनको तयारी तीव्र, १५ सय कोठा ‘बुक’
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै पार्टीभित्र राजनीतिक सरगर्मी तीव्र बनेको छ । विशेष महाधिवेशन आह्वान गर्ने पक्ष र त्यसप्रति असहमत संस्थापन समूह दुवै आ–आफ्नो रणनीतिसहित सक्रिय देखिएका छन् ।
विशेष महाधिवेशनको केन्द्रीय तयारी अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिक स्थापना गरिएको सचिवालयमार्फत अघि बढाइएको छ । सचिवालयको समन्वयमा स्वयंसेवक परिचालन, मञ्च निर्माण, सुरक्षा, आवास तथा भोजन व्यवस्थापन जस्ता कामहरू चरणबद्ध रूपमा अगाडि बढाइएका छन् । आयोजक समितिका अनुसार भृकुटीमण्डपमा मञ्च निर्माणको काम सुरु भइसकेको छ । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिएका छन् । महाधिवेशनको व्यवस्थापन सहज बनाउन विभिन्न उपसमितिहरूलाई जिम्मेवारी बाँडिएको र ती समितिमा रहेका नेताहरू आ–आफ्नो भूमिकामा सक्रिय रहेको सचिवालयले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १,५०० होटल कोठा बुक गरिएको छ । आवास तथा भोजन समितिका संयोजक रमेश धमलाका अनुसार एयरपोर्ट, सुन्धारा, ठमेल र नक्साल क्षेत्रका होटलहरूमा कोठा सुनिश्चित गरिएको छ । ‘हरेक निर्वाचन क्षेत्रका प्रतिनिधिहरूलाई फोकल पर्सन तोकेर बसोबासको व्यवस्था मिलाइएको छ,’ उनले सुनाए । यो विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो । यद्यपि, पार्टीको संस्थापन समूहले यसलाई अस्वीकार गर्दै काउन्टर रणनीतिका रूपमा युवा भेला र केन्द्रीय सदस्यहरूको छुट्टै भेला आयोजना गर्ने घोषणा गरेको छ । यसले कांग्रेसभित्रको शक्ति संघर्ष सतहमा आएको संकेत गरेको छ ।
केन्द्रीय गतिविधिसँगै जिल्लास्तरमा पनि विशेष महाधिवेशनको पक्षमा माहोल बन्दै गएको छ । काभ्रे जिल्लामा जिल्ला कार्यसमितिदेखि क्षेत्रीय र प्रदेश सभा समितिसम्मका नेतृत्वले विशेष महाधिवेशनमा सक्रिय सहभागिताको आह्वान गरेका छन् । जिल्ला सभापति तीर्थ लामासहित दुवै क्षेत्रका क्षेत्रीय सभापति र प्रदेश सभा समितिका सभापतिहरूले संयुक्त रूपमा महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थिति जनाउन आग्रह गरेका हुन् । जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनलाई सफल बनाउन काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई पुस २७ गते बिहान ११ बजे पुतलीसडकको पद्मोदय मोडमा भेला भई विशेष ¥यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ ।
काभ्रेको क्षेत्र नं १ का सभापति दिनेश लामा र क्षेत्र नं २ का सभापति महेश खरेलसहित प्रदेश सभा क्षेत्रका सभापतिहरूले समेत विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् । यसले विशेष महाधिवेशनको पक्षमा जिल्लास्तरबाट समेत संस्थागत समर्थन बढ्दै गएको देखाउँछ । महाधिवेशनको मिति नजिकिँदै जाँदा भृकुटीमण्डप परिसरमा नेता–कार्यकर्ताको आवतजावत बढ्न थालेको छ भने कांग्रेसभित्रको राजनीतिक तापक्रम थप चर्किदै गएको छ । विशेष महाधिवेशनले पार्टीको आगामी दिशा र आन्तरिक शक्ति सन्तुलनमा के असर पार्ला भन्ने चासो अहिले कांग्रेस वृत्तमा केन्द्रित बनेको छ ।

