कांग्रेसका ३० केन्द्रीय सदस्यहरुको शेखर कोइरालासँग छलफल
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन, गठबन्धन र नेतृत्वको भूमिकालाई लिएर चर्किंदै गएको विवादको केन्द्रमा नेता शेखर कोइराला देखिएका छन् । पछिल्लो समय सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यसँगको लामो भेटघाटले उनीमाथि पार्टीभित्रको संकट समाधानका लागि अग्रसर हुन दबाब बढाएको छ ।
बिहीबार बिहान करिब साढे दुई घण्टा भएको छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएका मतभेद न्यूनिकरण गर्दै एकताको पहल लिन कोइरालालाई आग्रह गरेका थिए । केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वयसहित पाँच नेताले फरक मत राखेका थिए । तर, कोइरालाले भने औपचारिक रूपमा फरक मत नराखी बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
कोइराला विशेष महाधिवेशनको भावनासँग सहमत रहेको बताउँदै आए पनि त्यसको खुला नेतृत्व लिन भने हिच्किचाइरहेको देखिन्छ । उनले सर्वसम्मत निर्णय भए विशेष महाधिवेशन सम्भव हुने धारणा राखेका छन् । यही कारण उनलाई समर्थन गर्ने हस्ताक्षर अभियानकर्ताहरूले स्पष्ट अडान नलिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
विशालनगरस्थित सम्पर्क कार्यालयमा आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले विशेष महाधिवेशन पक्षधरको भावना बुझ्ने तर बहुमतको निर्णयविरुद्ध विद्रोह गर्न नसकिने स्पष्ट पारेका थिए । यही अभिव्यक्तिलाई लिएर कांग्रेस वृत्तमा उनको भूमिका ‘कमजोर’ बन्दै गएको टिप्पणी भइरहेको छ ।
