पुसभित्रै विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वयको तयारी, के भन्छन् देउवा ?
काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औ महाधिवेशन अन्योलमा पर्दै जाँदा विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र फेरि मतभेद तीव्र बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षमा उभिएका नेताहरूले पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् भने सभापति शेरबहादुर देउवा पक्ष त्यसलाई अस्वीकार गर्दै निर्वाचनपछि मात्र नियमित महाधिवेशन हुने अडानमा छ ।
केन्द्रीय समितिले यसअघि पुस १६ मा वडा अधिवेशन र पुस २६-२८ मा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता नवीकरण, वितरण, छानबिन समिति र विधान मस्यौदा समिति गठन जस्ता आधारभूत काम नै सम्पन्न हुन सकेनन् । यसले तोकिएको समयमा नियमित महाधिवेशन असम्भव बनेपछि विशेष महाधिवेशनको माग चर्किएको हो । विशेष महाधिवेशन पक्षधरले पार्टी विधानअनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी असोज अन्त्यतिर केन्द्रीय कार्यालयमा बुझाइसकेका छन् । उनीहरूका अनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेकाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी हुन्छ । यही आधारमा पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको दाबी गरिएको छ ।
महामन्त्री थापाले विशेष महाधिवेशन विधानतः अनिवार्य मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गर्दा महामन्त्रीमार्फत केन्द्रीय कार्यालयले अधिवेशन बोलाउन सक्ने सुझाव पाएको पनि बताएका छन् ।
तर संस्थापन पक्ष भने विशेष महाधिवेशन असम्भव रहेको दाबीमा अडिग छ । प्रवक्ता प्रकाशशरण महतले चुनावअघि महाधिवेशन गर्दा पार्टीको ध्यान भंग हुने र संगठन कमजोर हुने तर्क गरेका छन् । उनका अनुसार आम निर्वाचनपछि मात्रै वडा तहदेखि नियमित अधिवेशन प्रक्रिया अघि बढ्नेछ । सभापति देउवाले पनि विशेष महाधिवेशनमा गए विधि र प्रक्रियामै अर्को विवाद सुरु हुने भन्दै त्यसको आवश्यकता नरहेको बताएका छन् ।
यद्यपि देउवाले यदि नियमित महाधिवेशन गर्न पार्टी तयार भए आफू बाधक नबन्ने पनि स्पष्ट पारेका छन् । आफू सभापतिको उम्मेदवार नबन्ने भएकाले तटस्थ रहने उनको भनाइ छ । पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् । ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भइहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’
यसरी कांग्रेसभित्र एकातिर विशेष महाधिवेशनको तयारी तीव्र बनिरहेको छ भने अर्कोतिर संस्थापन पक्ष निर्वाचनपछिको नियमित महाधिवेशनमै जोड दिइरहेको छ । पुस अन्त्य नजिकिँदै जाँदा कांग्रेस कुन बाटो समाउने हो भन्ने प्रश्नले पार्टी राजनीति थप तरंगित बनेको छ । नेताहरुको आ–आफ्नो अडानका कांग्रेस महाधिवेशन पेचिलो बन्दै गएको छ । दुबै पक्षका नेताहरुले आ–आफ्ना तर्क पेस गरे पनि महाधिवेशन कहिले हुन्छ भन्ने स्वयम कांग्रेसका नेताहरुलाई नै थाहा छैन ।
