`

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान, बनाइयो १८ उपसमिति

Nepal One HD २३ पुष २०८२ १५:०९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवादबीच पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन पक्षधर समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही २०८२ साल पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको हो ।

पक्षधर समूहका अनुसार पार्टीले यसअघि २०८२ पुस २८ भित्र १५ औं नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयभित्र महाधिवेशन हुन नसकेको अवस्था सिर्जना भएको छ । यही कारण विशेष महाधिवेशन अब ‘विकल्प होइन, बाध्यता’ बनेको उनीहरूको दाबी छ । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७ (२) अनुसार आवश्यक प्रक्रिया पूरा गरिएको उल्लेख गरिएको छ । विधान बमोजिम २,४८८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गराइसकिएको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा स्पष्ट शब्दमा भनिएको छ, ‘पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन । यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो ।’ पक्षधरहरूले २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था उल्लंघन गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई विधानको सम्मान गर्न आग्रह गरेका छन् ।

विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पक्षधर समूहले १८ वटा उपसमिति गठन गरी संयोजक समेत तोकेको जानकारी दिएको छ । महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप बुकिङ गरिसकिएको र शान्ति–सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार समेत भइसकेको उनीहरूको भनाइ छ । सचिवालयका तर्फबाट आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक तयारी अघि बढिसकेको बताउँदै उनीहरूले पार्टी केन्द्रलाई आयोजनाको स्वामित्व लिन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको धारणा राखेको छ । उनीहरूका अनुसार पार्टी विधानले तोकेको सर्वोच्च निकाय केन्द्रीय महाधिवेशन भएकाले यसले गर्ने निर्णय स्वतः वैध हुनेछन् । तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिँदै आएको छ। यही मतभेदका कारण कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको देखिन्छ । विशेष महाधिवेशन पक्षधरहरूले यो महाधिवेशन पार्टीलाई विभाजनतर्फ होइन, आन्तरिक एकता र विधानको सर्वोच्चता सुदृढ गर्ने कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ,

‘वर्तमान संवेदनशील घडीमा पार्टी विधानको अक्षुण्णता कायम गर्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप बलियो बनाउने साझा जिम्मेवारी हामी सबैको हो ।’ अब विशेष महाधिवेशनको आह्वानले पार्टी नेतृत्वले के निर्णय लिन्छ र कांग्रेसको आन्तरिक शक्ति सन्तुलन कुन दिशातर्फ जान्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *