`

विशेष महाधिवेशनमा फरक दृष्य : कार्यकर्ता कुर्सीमा, नेतालाई कुसन

Nepal One HD २७ पुष २०८२ १३:२१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच सुरु हुन लागेको यस महाधिवेशनमा उद्घाटन सत्रअघि नै एउटा फरक र प्रतीकात्मक दृष्य देखिएको छ ।

भृकुटीमण्डपको खुला चौरमा तयार गरिएको उद्घाटन मञ्चमा नेताहरूका लागि परम्परागत कुर्सी नराखी कुसनको व्यवस्था गरिएको छ । विशेष महाधिवेशन आयोजक समितिले विगतको अभ्यासलाई निरन्तरता दिँदै नेताहरूलाई कुर्सीभन्दा तल कुसनमा बसाउने व्यवस्था गरेको हो । यसलाई नेताहरू र कार्यकर्ताबीचको दूरी घटाउने सन्देशका रूपमा पनि हेरिएको छ । मञ्च अगाडि भने कुर्सीहरू पंक्तिबद्ध रूपमा राखिएका छन् । ती कुर्सीमा १४औं महाधिवेशनका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरू बस्ने छन् । मञ्चमा नेताहरू कुसनमा र दर्शकदीर्घामा प्रतिनिधि कुर्सीमा बस्ने दृष्यले महाधिवेशनमा नयाँ सन्देश प्रवाह गरेको देखिन्छ ।

विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायत स्थानबाट निस्किएका र्‍यालीहरूले महाधिवेशनस्थललाई उत्साहपूर्ण बनाएका छन् । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन, पार्टी सुदृढीकरण र आन्तरिक एकताको माग उठाएका छन् । पार्टीभित्र देखिएको गहिरो विवादबीच आयोजना गरिएको यो विशेष महाधिवेशनले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ । मञ्चको व्यवस्थादेखि प्रतिनिधिहरूको सक्रिय सहभागितासम्म देखिएको फरक दृश्यले यस महाधिवेशनलाई अघिल्ला महाधिवेशनभन्दा अलग र अर्थपूर्ण बनाएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *