`

अब कांग्रेसको सभापति शेखर कोइराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ : सुनिल शर्मा

Nepal One HD २८ पुष २०८२ १३:२१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमवार काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शीर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् ।

यता डा. कोइराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।

उनले भने, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’ उनले डा. शेखर कोइराला कांग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला कांग्रेसको सभापति बन्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *