सभापति पदको लोभ छैन, पार्टी एकताकै लागि अन्तिमसम्म लड्छु : शेखर कोइराला (भिडियो)
काठमाडौैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्ने अठोटसहित आफू कांग्रेस एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन उद्घाटनको संघारमा भिडियो सन्देश जारी गर्दै उनले व्यक्तिगत पद, प्रतिष्ठा वा शक्ति आफूलाई कहिल्यै लोभ्याउने विषय नभएको बताएका छन् ।
कोइरालाले कांग्रेस रूपान्तरणको अभियानमा आफूले शान्त, धैर्यशील र संयमित शैली अपनाएको उल्लेख गर्दै भने, ‘मेरा कतिपय शैलीसँग साथीहरू असहमत हुनु स्वाभाविक हो, तर आक्रोश र अधैर्यले पार्टीलाई सही दिशामा लैजान सकिँदैन भन्ने मेरो विश्वास हो ।’ उनले मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने आकांक्षा आफूमा कहिल्यै नरहेको दोहोर्याए ।
उनका अनुसार परिवारबाट प्राप्त जीवन दर्शन नै उनको राजनीतिक मार्गदर्शक सिद्धान्त हो । ‘त्यही दर्शनबाट प्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु’, उनले भने। यस क्रममा एकातर्फ सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको र अर्कोतर्फ परिवर्तन चाहने ऊर्जावान युवाहरूको असन्तोष पनि सम्बोधन गर्नुपर्ने चुनौती आफूले भोगेको उनको भनाइ छ ।
देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै कोइरालाले वर्तमान परिस्थितिमा कांग्रेसको एकता ऐतिहासिक आवश्यकता भएको बताए । ‘निर्वाचित सरकारको सट्टा अनिर्वाचित सरकार रहेको अवस्था, संविधानमाथि प्रश्न उठिरहेका बेला कांग्रेस एकताबद्ध हुनु अपरिहार्य छ’, उनले भने । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिकामाथि उठेका प्रश्नलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।
कोइरालाले पार्टीभित्र विधि, प्रक्रिया र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । विशेष महाधिवेशनबारे आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखिसकेको जानकारी दिँदै उनले बीपी कोइरालाको मेलमिलाप नीति कानुनको अक्षरभन्दा पनि जनताको आवाज र अन्तरआत्माबाट आएको दर्शन भएको स्मरण गराए ।
महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसको ‘धरोहर’ को संज्ञा दिँदै उनले उनीहरू विधान कार्यान्वयन र पार्टी एकता कायम गर्न सक्षम रहेको गहिरो विश्वास व्यक्त गरे । ‘के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वका साथ एकताबद्ध महाधिवेशन गर्न सक्दैनौँ ? हाम्रो एकता देख्न चाहने समर्थक, शुभेच्छुक र अन्तर्राष्ट्रिय समुदाय छैनन् र ?’ उनले प्रश्न गरे । अन्त्यमा, पार्टीभित्र देखिएको गतिरोध समाधानका लागि आफूले केही दिनदेखि निरन्तर ‘भगीरथ प्रयास’ गरिरहेको उल्लेख गर्दै डा. कोइरालाले स्पष्ट प्रतिबद्धता जनाए, ‘जबसम्म निकास निस्किँदैन, तबसम्म म लागिरहने छु ।’
