बन्द सत्रमा विश्वप्रकाशको प्रस्ताव : बदलिएको समयअनुसार कांग्रेस पुनर्निर्माण अपरिहार्य
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । बन्द सत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा सांगठनिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका छन् ।
बन्द सत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका थिए । प्रस्ताव पेश गर्दै महामन्त्री शर्माले नेपाली समाज, राजनीति र जनअपेक्षामा आएको परिवर्तनलाई आत्मसात् नगरी कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट सन्देश दिएका छन् । उनले कांग्रेसको भावी यात्रालाई ‘सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ का रूपमा परिभाषित गर्दै पार्टीभित्र आत्मविश्वास र समाजमा विश्वास दुवै पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । प्रस्ताव प्रस्तुत गर्ने क्रममा शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ भने अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्ने सकारात्मक सन्देश प्रवाह गर्नेछ । विश्वास र आत्मविश्वासको यही अठोट र अभियान आजको हाम्रो प्रधान कार्यभार हो ।’
उनले बदलिँदो समय, प्रविधि, चेतना र जनताको अपेक्षासँग कांग्रेसको संगठन, कार्यशैली र राजनीतिक व्यवहार अझै सुदृढ र आधुनिक बनाउनुपर्ने धारणा राखेका छन् । प्रस्तावमा पार्टीको सांगठनिक संरचना, कार्यकर्ता व्यवस्थापन, नेतृत्व विकास र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने विषय समेटिएको छ । प्रस्तावको अन्त्यतिर महामन्त्री शर्माले आत्मालोचनासहित कांग्रेस रूपान्तरणको संकल्प व्यक्त गरेका छन् ।
उनले भने, ‘हामी जान्दछौँ, जो बदलिन सक्छ, उसैले बदल्न सक्छ । कुनै समय कांग्रेसले देशको समयलाई आफूअनुकूल बदलेको थियो, आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नु छ ।’ उनले कांग्रेसलाई ‘रिबिल्डिङ’ र ‘रिब्रान्डिङ’ गर्ने स्पष्ट लक्ष्य अघि सार्दै संगठनलाई जनमुखी, परिणाममुखी र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरिएको यस सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि आगामी दिनमा प्रतिनिधिहरूबीच छलफल हुने र त्यसकै आधारमा कांग्रेसको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय हुने नेताहरूले बताएका छन् ।
