`

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशन उदघाटन

Nepal One HD २७ पुष २०८२ १४:५६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार औपचारिक रूपमा सुरु भएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गर्दै तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहायक महामन्त्री फरमूल्लाह मंसुरसहित चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठलगायत नेताहरूको उपस्थिति थियो। विभिन्न जिल्लाका सभापतिहरू पनि महाधिवेशनमा सहभागी भएका छन् ।

यस विशेष महाधिवेशनमा भने पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका शीर्ष नेताहरू सहभागी भएनन् । विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेपछि महामन्त्रीद्वयकै नेतृत्वमा उद्घाटन गरिएको हो । यही कारण कांग्रेसभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ। देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको छ भने गगन–विश्व समूहले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशन आयोजना गरेको दाबी गरेको छ ।

जुलुस, नारा र शक्ति प्रदर्शन
विशेष महाधिवेशनका अवसरमा कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीलगायत क्षेत्रबाट बाजागाजासहितका जुलुस भृकुटीमण्डपतर्फ आएका थिए । जुलुसमा ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्वले भन्छ’ भन्ने नारा गुञ्जिएको थियो । तामझामका साथ उद्घाटन सत्र चलिरहँदा प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि सँगसँगै अघि बढेको छ । नेताहरूका अनुसार प्रतिनिधिको संख्या र सहभागिताले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशा परिवर्तन हुने–नहुने निर्धारण गर्नेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र सुरु हुने र विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।

महाधिवेशन सुरु हुनुअघि महामन्त्री गगन थापा घरबाट आमाबुवाको आशीर्वाद लिएर कार्यक्रमस्थलतर्फ प्रस्थान गरेका थिए । उनले ‘यहाँहरूको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदै छु’ भन्दै आफ्नो भाव व्यक्त गरेका थिए । उता, उद्घाटन सत्र चलिरहेकै बेला थापाकी पत्नी अञ्जना केसी थापाले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै उनको साहस र प्रतिबद्धताको प्रशंसा गरिन् ।

उनले जोखिम ठूलो भए पनि गगन एक्लो नरहेको, परिवर्तन चाहने धेरै मानिसहरूको साथ रहेको उल्लेख गरेकी छन् । विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक मतभेद सतहमा ल्याएको छ । एकातिर संस्थापन पक्षको बहिष्कार, अर्कोतिर युवा नेतृत्वको अगुवाइमा भएको महाधिवेशन—यी घटनाक्रमले पार्टीको भविष्य र नेतृत्व संरचनाबारे नयाँ बहस सुरु गराएको छ । अब बन्द सत्रका निर्णय र प्रतिनिधिको सहभागिताले नेपाली कांग्रेसको आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *