`

अब पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : खड्का

Nepal One HD ३० पुष २०८२ १३:१३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस गहिरो आन्तरिक संकटको मोडमा पुगेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला घटनाक्रमले कांग्रेस फुटतर्फ अघि बढेको संकेत गरेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्ना कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई हालसम्म भएका वार्ताबारे जानकारी गराउँदै परिस्थिति गम्भीर बनेको स्पष्ट पारे ।

खड्काका अनुसार सभापति पक्षबाट अधिकतम लचकता देखाइए पनि महामन्त्रीहरू सहमतिमा नआएको र विशेष महाधिवेशनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले पार्टी विभाजनको बाटोमा पुगेको हो । ‘अब हिजो जस्तै बैठक रोकिँदैन’, खड्काको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘पार्टी जोगाउने वा अगाडि बढाउने आवश्यक निर्णय केन्द्रीय कार्य समितिले गर्छ ।’

यसैबीच, केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै खड्काले पार्टी जोगाउन प्रयास जारी रहेको बताएका छन् । कांग्रेस मिल्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘कोशिस चलिरहेको छ ।’ विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको विषयमा भने उनले कुनै टिप्पणी गरेनन् । हाल विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । कांग्रेस विधानअनुसार दुई महामन्त्री रहने व्यवस्था छ ।

उता, संस्थापन पक्षले भने आन्तरिक छलफललाई निर्णायक मोडमा लैजान केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन कांग्रेसका शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।
पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि उम्मेदवारी दर्ता र समानान्तर गतिविधिले कांग्रेसको भविष्यलाई अनिश्चित बनाएको छ । अब केन्द्रीय कार्यसमितिको निर्णयले कांग्रेस एकतर्फ फर्कने कि औपचारिक विभाजनतर्फ जाने भन्ने स्पष्ट हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *