कांग्रेस विशेष महाधिवेशन : तोकियो उम्मेदवारी शुल्क, सुरक्षा व्यवस्था कडा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै उम्मेदवारी दर्ता, मतदान र सुरक्षा व्यवस्था समेत अघि बढाइएको छ । निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसअघि खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको थियो । निर्वाचन केन्द्रीय समितिका पदहरूका लागि हुने जनाइएको छ ।
निर्वाचन तालिका सार्वजनिक भएसँगै महाधिवेशनस्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरीले माइकिङ गर्दै महाधिवेशन प्रतिनिधि बाहेक अन्य व्यक्तिलाई बाहिर पठाएको छ भने प्रतिनिधिहरूलाई हलभित्र प्रवेश गराइएको छ । बन्द सत्रस्थल आसपास अन्य नेता–कार्यकर्तालाई टाढा राखिएको छ ।
यता, भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा कांग्रेसको संस्थापन पक्षका नेता–कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएका छन् । तरुण दलका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको सानेपामा उनीहरूले ‘हामी यहाँ छौं’ भन्ने सन्देश दिन आफूहरू त्यहाँ पुगेको बताएका छन् । दुवै पक्षबीच विशेष महाधिवेशनको विषयमा वार्ता समिति बनाएर निरन्तर छलफल भइरहेको भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आजै मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । नामावलीमाथिको दाबी–विरोध र छलफल साढे १ बजेसम्म हुने उल्लेख छ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । मतदान समय आज साँझ ९ बजेका लागि तोकिएको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिशामा औपचारिक रूपमा प्रवेश गरेसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चर्किएको छ ।
