`

रवि–बालेन लक्षित गर्दै गगनले भने–पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत रहौं

Nepal One HD २८ पुष २०८२ १३:५७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पपुलिजम र अराजकतावादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर सचेतना आवश्यक रहेको बताएका छन् । पार्टीको जारी विशेष महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले लोकतान्त्रिक मूल्य, उदारवाद र बहुलवादी सिद्धान्तमाथि चुनौती बढिरहेको उल्लेख गरे ।

थापाका अनुसार विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको प्रभाव नेपालमा पनि देखिन थालेको छ । प्रतिवेदनमा लोकतान्त्रिक प्रणालीलाई संस्थागत रूपमा बलियो बनाउनेभन्दा पनि ‘चमत्कारबाट देश बदलिन्छ’ भन्ने भ्रम फैलाउने पात्र र प्रवृत्तिहरू सक्रिय हुँदै गएको उल्लेख छ । उनले यस्ता सोच र गतिविधिले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने चेतावनी दिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र कुनै जादु वा चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रियाको निरन्तर अभ्यास हो ।’ लोकतन्त्र मजबुत हुन लोकतान्त्रिक संस्था सक्षम, सबल र उत्तरदायी हुनुपर्नेमा जोड दिइएको छ । सरकार र राजनीतिक दल जनताप्रति जिम्मेवार भए मात्र विधि र पद्धतिको विकास हुने र त्यसबाट प्रणाली सुदृढ हुने थापाको धारणा छ । महामन्त्री थापाले लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा मात्र नभई जीवन पद्धतिको रूपमा बुझ्नुपर्ने बताए । लोकतन्त्र विधिसम्मत, प्रक्रियामुखी र संस्थाप्रधान हुने स्पष्ट पार्दै उनले उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संरक्षण र प्रवद्र्धन नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरे ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहतर्फ संकेत गर्दै थापाले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत रहन आग्रह गरे । लोकतन्त्र र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको आह्वान छ । यसैबीच, महामन्त्री थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले सशक्त भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्य तथा सफल बनाउन सक्रिय रूपमा लागिपर्ने बताए । उनले फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि सरकारलाई पनि जिम्मेवार भूमिका खेल्न सचेत गराए । ‘नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्ध छ र सोही अनुरूप निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँछ’, थापाले भने । उनले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन संरचनागत परिवर्तन र सुधार अपरिहार्य भएको धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *