विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, तीन जनाले लगे सभापतिको फाराम
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । पार्टी संस्थापन पक्षसँग सहमतिका लागि निरन्तर संवाद भइरहे पनि भृकुटीमण्डपमा भने निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता र अन्य प्रक्रिया तीव्र बनाइएको छ ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो । सुरुमा तोकिएको समय परिमार्जन गर्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ७ः३० बजेसम्मको समय दिएको जनाएको छ । मनोनयन फाराम वितरणका क्रममा सभापति पदका लागि मात्रै तीन जनाले फाराम लगेका छन् । यद्यपि, फाराम बुझाएपछि मात्र औपचारिक रूपमा उम्मेदवारको नाम सार्वजनिक हुने निर्वाचन समितिले स्पष्ट पारेको छ ।
संस्थापन पक्षसँग सहमतिमा महाधिवेशन अघि बढाउने प्रयास भइरहे पनि वार्ता अपेक्षित रूपमा टुंगोमा नपुगेपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया समानान्तर रूपमा अघि बढाएका हुन् । विशेष महाधिवेशन पक्षधर समूहले महामन्त्री गगन थापालाई सभापति बनाइनु पर्ने दबाब दिँदै आएको सन्दर्भमा राजनीतिक गतिविधि थप चर्किएको देखिन्छ ।
महाधिवेशनमा साबिकको विधानअनुसार सबै पदाधिकारीका लागि निर्वाचन हुने व्यवस्था गरिएको छ । यसअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी चुनावबाट चयन गरिनेछ । त्यस्तै, सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायबाट आठ जना चयन हुने व्यवस्था छ । खुला तर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित गरिनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको नामावली आज साँझ साढे ४ बजे प्रकाशन गरिनेछ । मतदान कार्यक्रम भने मंगलबार राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म सञ्चालन हुने तय भएको छ ।
उम्मेदवारी दर्ताका लागि शुल्क पनि निर्धारण गरिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्री पदका लागि समान २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ । विशेष महाधिवेशनले पदाधिकारी र केन्द्रीय समितिको चयनमार्फत पार्टीको भावी नेतृत्व र राजनीतिक दिशानिर्देश तय गर्ने भएकाले कांग्रेसभित्रको आन्तरिक राजनीति थप निर्णायक मोडमा पुगेको विश्लेषण भइरहेको छ ।
